काठमाडौं,
मंसिर १२ ।
वल्लभ कट्टेलको गीतिसङ्ग्रह ‘गन्तव्य’ लोकार्पण गरिएको छ । गीतकार सङ्घ नेपालको आयोजनामा काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थानमा आयोजित कार्यक्रममा वरिष्ठ कवि, गीतकार तथा पूर्वमन्त्री एसपी कोइरालाले सङ्ग्रह लोकार्पण गर्नुभएको हो । सङ्ग्रहमा पाँच गीत समेटिएका छन् । ती गीतमा शङ्कर थापा ‘स्माइल’को एकल सङ्गीत तथा जगदीश समाल, अञ्जु पन्त, सुरेश लामा, प्रविण बेडवाल र स्माइल दासको स्वर रहेको छ ।
सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ गीतकार ज्ञानेन्द्र गदाल र चुडामणि देवकोटाले शुभकामना मन्तव्य राख्नुभएको थियो भने सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठले कट्टेलको गीत लेखनको समीक्षा गर्नुभएको थियो ।
सङ्घका उपाध्यक्ष रमेश कोइरालाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम सुमन वैरागी पण्डितले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा सङ्ग्रहमा समावेश ‘हाम्रो यात्राको गन्तव्य’ गीतको श्रव्यदृश्य सामग्रीसमेत प्रदर्शन गरिएको थियो ।
संयुक्त राष्ट्रसङ्घ अन्तर्गतका विभिन्न संस्थामा २१ वर्ष काम गर्नुभएका कट्टेलले व्यावसायिक व्यस्तताका कारण बाल्यकालदेखिको गीत लेखनप्रतिको रुचिलाई समय दिन नसकेको बताउँदै ‘गन्तव्य’मार्फत आफ्नो लामो समयदेखिको सिर्जनात्मक अभिलाषा पूरा भएकोमा खुसी व्यक्त गर्नुभयो ।







