कविता : अनुभूति छैन

✍️ अमृत मरहठ्ठा
काठमाडौं, १२ मंसिर ।

आज घर उही छ, आँगन उही छ,
भान्सा पनि उस्तै छ,
तर
घर ! घरजस्तो अनुभूति छैन ।

तिमी हुँदा कुनै सानो दुःख पनि
तिम्रो काखमा पुगेर हराउँथ्यो,
तिम्रो ममतामा गएर पग्लिन्थ्यो ।

आज यस्तो ठूलो पीडामा पनि
आँसु पुछिदिने तिम्रा हात छैनन् ।

बिहान उठ्दा तिम्रो आवाज खोज्छु,
साँझ पर्दा तिम्रो अनुहार सम्झन्छु ।

कहिलेकाहीँ लाग्छ,
म ढोकाबाट भित्र पस्दै गर्दा
तिमीले बोलाउनेछ्यौ,
सधैं झैं सोध्नेछ्यौ ।
बाबु, आज किन यति अबेर ?

छिटो हात गोेडा पखाल
अनि खाना खान आऊ
तर अहँ त्यो आवाज अब
केवल सम्झनामा बाँचेको छ ।

तिम्रो तस्बिरसँग कुरा गर्छु,
अनि मनलाई सम्झाउँछु-
आमा टाढा गएकी हुन्,
उनको माया कहिल्यै टाढा जाँदैन ।

तिमी थियौ, केही नभएरै पनि
म संसारको सबैभन्दा धनी
मान्छे थिएँ, आमा !

तिमी नभएको यो संसारमा
सबै भएर पनि म रित्तो छु ।
म भित्र एउटा ठूलो रिक्तता छ ।
तिमीलाई थाहा छ आमा
त्यो रिक्तता कुनै धनले भर्न सक्दैन,
कुनै खुसीले मेटाउन सक्दैन ।।

यसमा तपाइको मत

अन्य समाचार