प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै

काठमाडौं,
मंसिर ६ ।

प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज (आइतबार) दिउँसो भारतको दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । प्रधानमन्त्री पदमा नियुक्त भएपछि शाहको यो पहिलो विदेश भ्रमण हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, उहाँले भारतीय प्रधानमन्त्री मोदीसँग भोलि (सोमबार) प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुनेछ ।

प्रधानमन्त्री शाहले सोमबार नै नयाँ दिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । आइतबार नै भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नुहुनेछ ।

भ्रमणका क्रममा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गरिने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीचको वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य विस्तार गर्ने विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ ।

त्यसैगरी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गरिनेछ । यसबाट दुवै देशका प्राथमिकताका क्षेत्रमा आपसी सहयोग थप विस्तार हुने विश्वास गरिएको छ ।

भ्रमणका क्रममा नेपाल-भारत बिजनेस फोरमको छलफल कार्यक्रमसमेत आयोजना हुनेछ । उक्त कार्यक्रममा प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्नेछन् । नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले आयोजना हुने कार्यक्रममा भारतीय व्यवसायीका चासो र सरोकार सुन्नुका साथै नेपाल सरकारले लगानी प्रवर्द्धनका लागि अवलम्बन गरेका नीतिगत दृष्टिकोण र प्रयासबारे जानकारी गराइनेछ ।

यस कार्यक्रमले नेपाली र भारतीय व्यवसायीबीच व्यावसायिक साझेदारी तथा सहकार्य विस्तारका लागि नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा सञ्चारकर्मी सहभागी हुनेछन् ।

दुईदिने भारत भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह मंसिर ७ गते अपराह्न ४ बजेर ५० मिनेटमा नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार