काठमाडौं,
मंसिर ५ ।
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो ।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३।३ ओभरमै कुनै विकेट नगुमाई १५८ रन बनाउँदै पूरा गर्यो । सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गर्दै अविजित १२५ रन बनाउनुभयो । उहाँले मात्र ५४ बलमा आठ चौका र १२ छक्का प्रहार गर्नुभयो । मुन्सेको स्ट्राइक रेट २३१.४८ रह्यो ।
अर्का ओपनर विनोद भण्डारीले पनि अविजित ३० रनको योगदान दिनुभयो । उहाँले २७ बलमा तीन चौका प्रहार गर्नुभयो । दुवै ओपनरले पहिलो विकेटका लागि अविजित १५८ रनको साझेदारी गर्दै टोलीलाई सहज जित दिलाउनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । लुम्बिनीका लागि दिलीप नाथले अविजित ३९ रन बनाउनुभयो । कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८, डीुआर्सी शर्टले २१ र अली शेखले २४ रन जोडनुभएको थियो ।
सुदूरपश्चिमका लागि न्युजिल्यान्डका अलराउन्डर स्कट कुगेलेइनले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा २५ रन खर्चेर दुई विकेट लिनुभयो । हेमन्त धामी, थारिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिनुभयो ।
१० विकेटको शानदार जितसँगै सुदूरपश्चिम रोयल्सले एनपीएल २०२६ को उपाधि आफ्नो नाममा लेखाएको छ ।






