काठमाडौं,
मंसिर ५ ।
नेपाली र अमेरिकी फिल्म निर्माण कम्पनीको सहकार्यमा वेब सिरिज ‘सायरा : ए मिरोर अफ सोसाइटी’ निर्माण हुने भएको छ । अमेरिकाबाट व्यावसायिक यात्रा सुरु गर्न लागेको अस्त्र सिने स्टुडियोजले नेपालस्थित र्याड स्टुडियोजसँगको सहकार्यमा सिरिज निर्माण गर्न लागेको हो ।
वेब सिरिजको लेखन तथा निर्देशन किशोर भण्डारीले गर्नुहुनेछ । ‘स्टोरीज द्याट स्ट्राइक लाइक स्टार्स’ अर्थात् ताराझैँ चम्किने कथाहरू भन्ने नारासहित निर्माण हुन लागेको सिरिज चाँडै छायांकनमा जाने निर्माण पक्षले जनाएको छ । आगामी माघ १ गते (जनवरी १५) देखि प्रदर्शन गर्ने तयारी गरिएको सिरिजको फस्टलुकसमेत सार्वजनिक गरिएको छ ।
सार्वजनिक फस्टलुकमा ‘सायरा’ शीर्षकको पछाडि चस्मा लगाएकी एक महिलाको तस्बिर देखिन्छ । त्यसको तल उपत्यकाजस्तो देखिने स्थानतर्फ हिँडिरहेकी अर्की महिला र उनको दायाँबायाँ बसेका केही व्यक्तिलाई चित्रण गरिएको छ ।
सिरिजमा नेपाली फिल्म क्षेत्रका चर्चित सम्पादक निशान घिमिरेले चिफ एडिटर तथा प्रोजेक्ट हेडको जिम्मेवारी सम्हाल्नुहुनेछ । उहाँका अनुसार डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै समाजमा देखिएका विकृति र समस्यालाई सिरिजले विषयवस्तु बनाउनेछ ।
‘आजको डिजिटल दुनियाँको लतले आम मानिसको ध्यानलाई विकृत कामतर्फ डाइभर्ट गरिरहेको छ । यो सिरिजको उद्देश्य सामाजिक विकृतिविरुद्ध आवाज उठाउँदै जनचेतना फैलाउनुका साथै मनोरञ्जन प्रदान गर्नु हो । परिवारसँग बसेर दर्शकले आनन्दका साथ हेर्न सक्ने सिरिज बनाउने हाम्रो चाहना छ,’ घिमिरेले भन्नुभयो ।
उहाँका अनुसार सिरिजलाई बहुभाषिक बनाउने तयारी भइरहेको छ । नेपाली कथालाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने उद्देश्यले अंग्रेजी सबटाइटलसहित विभिन्न देशमा प्रदर्शन तथा बजारीकरण गर्ने योजना निर्माण पक्षको छ ।
सांस्कृतिक विविधतालाई समेट्न कथाको मागअनुसार नेपाल र अमेरिकाका विभिन्न स्थानमा छायांकन गरिने घिमिरेले जानकारी दिनुभयो । सिरिजका कलाकार तथा प्राविधिक टोलीका सदस्यबारे केही समयपछि सार्वजनिक गरिने पनि उहाँले बताउनुभयो ।
दुई दशकभन्दा लामो समयदेखि नेपाली फिल्म तथा म्युजिक भिडियोको विकास र रूपान्तरणमा सक्रिय घिमिरेले अन्तर्राष्ट्रिय फिल्म बजारमा समेत नेपाली चलचित्रको प्रतिनिधित्व गर्दै आउनुभएको छ । उहाँले सन् २०२४ मा अमेरिकामा आयोजित अमेरिकन फिल्म मार्केटको ४५औँ संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउनुभएको थियो ।
लस भेगासस्थित पाम्स क्यासिनो रिसोर्टमा आयोजित उक्त कार्यक्रममा विश्वका ८० देशका फिल्मकर्मी तथा प्रतिनिधिहरू सहभागी भएका थिए । कार्यक्रममा फिल्म लगानी तथा वित्तीय व्यवस्थापन, निर्माण, वितरण, नयाँ प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), फिल्म स्ट्रिमिङ र कथावाचनलगायतका विषयमा छलफल भएको थियो ।
घिमिरेले आफ्नो कम्पनी र्याड स्टुडियोजमार्फत नेपाली फिल्मका विशेषता अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्नुभएको थियो । उहाँले नेपालको कथावाचन परम्परा, फिल्म निर्माणमा प्रयोग भइरहेका आधुनिक प्रविधि तथा छायांकनका लागि उपयुक्त प्राकृतिक स्थानहरूको सम्भावनाबारे चर्चा गर्नुभएको थियो ।
यसअघि सन् २०२३ मा बेलायतको लन्डनमा आयोजित ‘फोकस २०२३ : मिट द मेकर्स’ सम्मेलनमा पनि सहभागी हुनुभएका घिमिरेले नेपाली फिल्म उद्योगको सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
‘सायरा’मार्फत नेपाली कथालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने निर्माण पक्षको लक्ष्य छ ।






