काठमाडौं,
असोज १९ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले अनेसासका संस्थापक तथा पूर्वअध्यक्षद्वय भीमप्रसाद रेग्मी र पुरुषोत्तम सुवेदीलाई ‘अनेसास संस्थापक गौरव सम्मान’ प्रदान गरेको छ । नेपाली भाषा-साहित्य तथा अनेसासको संस्थागत विकासमा पुर्याएको योगदानको कदरस्वरूप आयोजित कार्यक्रममा उहाँहरूलाई रुद्राक्षको माला, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो । सो अवसरमा अनेसास क्यालिफोर्निया च्याप्टरका सल्लाहकार शेखर ढुंगेललाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रमको सुरुवात भोटेकोशीमा आएको बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारणबाट गरिएको थियो । प्रमुख अतिथि वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । च्याप्टरकी अध्यक्ष मञ्जिला शर्मा अनिलले अग्रजहरूको साधना, अनुभव र योगदानलाई सम्मान गर्दा नयाँ पुस्तासम्म त्यसको हस्तान्तरणमा सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा अनेसासका पूर्वअध्यक्ष राधेश्याम लेकाली, केन्द्रीय सचिव ऋषभदेव घिमिरे, प्राडा.खगेन्द्रप्रसाद लुइँटेललगायतले सम्मानित व्यक्तित्वहरूको योगदानको चर्चा गर्दै बधाई तथा शुभकामना दिनुभएको थियो ।
सोही अवसरमा अनेसास केन्द्रद्वारा घोषित ‘अनेसास नवरत्न पुरस्कार-२०२६’ बाट पुरस्कृत पूर्वउपाध्यक्ष डा.रेणु थापा सोलुलाई पुरस्कार प्रदान गरिएको थियो । यस्तै, पूर्वकेन्द्रीय सदस्य माया गुरुङ र अनेसास क्यालिफोर्निया च्याप्टरका अध्यक्ष श्रीबाबु आचार्यलाई स्वागत सम्मान गरिएको थियो । कार्यक्रममा वक्ताहरूले नेपालमा अनेसासको आफ्नै भवन निर्माणको पहल गर्नुपर्नेमा जोड दिएका थिए । वरिष्ठ साहित्यकार खेमनाथ दाहालले अनेसासकी माता स्व.नन्दादेवी सुवेदीको नाममा स्मृति प्रतिष्ठान स्थापना गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
सम्मानित रेग्मी र सुवेदीले सम्मानप्रति आभार व्यक्त गर्दै अनेसाससँगको आफ्नो यात्रा र नेपाली भाषा-साहित्यप्रतिको प्रतिबद्धताबारे धारणा राख्नुभएको थियो । सुवेदीले नेपालमा अनेसासको भवन निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने तथा विश्वभरका च्याप्टरसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि हिरण्यकुमारी पाठकले सम्मानित स्रष्टाहरूलाई बधाई दिँदै नेपाली साहित्यको समृद्धिका लागि सिर्जना, साधना र संस्थागत सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । नेपाल च्याप्टरका महासचिव रमेश दाहालले सहजीकरण गरेको कार्यक्रममा काठमाडौंस्थित विभिन्न साहित्यिक संस्थाका प्रतिनिधि तथा साहित्यकारसहित पाँच दर्जनभन्दा बढीको सहभागिता थियो ।






