‘दुर्गादेवी-पुण्य निरौला तथा चेतन कार्की स्मृति पुरस्कार-२०८२’ अर्पण

काठमाडौं,
असोज १९ ।

परिवर्तन नेपालले २०८२ सालका विभिन्न पुरस्कार तथा सम्मान अर्पण गरेको छ । आइतबार काठमाडौंमा आयोजित विशेष समारोहमा नेपाली कला तथा चलचित्र क्षेत्रमा योगदान पुर्‍याएका कलाकार, सञ्चारकर्मी तथा चलचित्रकर्मीलाई पुरस्कार तथा सम्मान अर्पण गरिएको हो ।

समारोहमा कलाकार शारदा गिरी र निर्देशक तथा कलाकार विश्वदिप घिमिरेलाई २०८२ सालको दुर्गादेवी-पुण्य निरौला स्मृति पुरस्कार अर्पण गरियो । चार दशकदेखि नेपाली चलचित्र तथा टेलिफिल्ममा अभिनय गर्दै आउनुभएकी गिरी र अढाई दशकभन्दा लामो समयदेखि रंगमञ्च, चलचित्र तथा टेलिचलचित्रको निर्देशन तथा अभिनयमा सक्रिय घिमिरेलाई जनही १५ हजार रुपैयाँ राशिको पुरस्कार अर्पण गरिएको थियो । यो पुरस्कार २०७३ सालमा स्थापना गरिएको हो ।

त्यस्तै, नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार तथा पेशाकर्मीको उत्थानमा तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामार्फत योगदान पुर्‍याएको भन्दै सञ्चारकर्मी कृष्ण भट्टराईलाई चेतन कार्की स्मृति पुरस्कार अर्पण गरिएको छ । २०७९ सालमा स्थापित उक्त पुरस्कार भट्टराईलाई प्रदान गरिएको हो । उहाँ हाल कलाकर्मी डटकमका प्रधान सम्पादक तथा प्रकाशक हुनुहुन्छ ।

परिवर्तन नेपालले स्थापनाकाल २०५३ सालदेखि विभिन्न स्रष्टा, कलाकार तथा संस्थासँग आबद्ध चलचित्रकर्मीलाई सम्मान गर्दै आएको छ । यस क्रममा अभिनेता आर्यन सिग्देल, आशान्त शर्मा, कलाकार सरोज ओली र ललितकला कलाकार देवेन्द्र थुम्केलीलाई परिवर्तनकर्मी विशेष सम्मान प्रदान गरियो ।

त्यस्तै, चलचित्रमा छायांकनका साथै प्राविधिकको पेशागत हकहितका लागि सक्रिय छायाँकार वीरेन्द्रप्रसाद भट्ट तथा गीत–संगीत पत्रकारिता र अवार्ड आयोजनामार्फत योगदान पुर्‍याउँदै आउनुभएकी सविता पोखरेललाई परिवर्तन पत्रकारिता सम्मान प्रदान गरिएको थियो ।

चलचित्र विकास बोर्डका निर्वतमान अध्यक्ष दिनेश डिसीलाई नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धिमा पुर्‍याएको योगदानको कदर गर्दै परिवर्तन विशेष सम्मान अर्पण गरिएको थियो ।

नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्दको सभापतित्वमा आयोजित समारोहमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, टीका पहारी, परिवर्तन नेपालका अध्यक्ष मोहन निरौला, अभिनेत्री चैत्यदेवी, अभिनेता शिव श्रेष्ठ, धिरेन शाक्य, नेपाल सरकारका सचिव मुकुन्दप्रसाद निरौला, विपिनराज निरौलालगायतले सम्मानित तथा पुरस्कृत व्यक्तित्वलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले पितृपक्षको अवसर पारेर आफ्ना दिवंगत माता–पिता दुर्गादेवी तथा पुण्य निरौला र वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको स्मृतिमा पुरस्कार तथा सम्मान प्रदान गरिएको बताउनुभयो ।

वरिष्ठ कलाकार टीका पहारीले नेपाली कलाकारिता क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरेर परिवर्तन नेपालले समाजमा सकारात्मक ऊर्जा प्रदान गरेको बताउनुभयो । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन क्षेत्रका सचिव मुकुन्दप्रसाद निरौलाले चलचित्रले नेपालको कला तथा संस्कृतिको संरक्षणमा योगदान गरिरहेको भन्दै यस क्षेत्रमा सक्रिय व्यक्तित्वलाई सम्मान र पुरस्कृत गर्ने कार्य प्रशंसनीय रहेको बताउनुभयो ।

प्राकृतिक तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष विपिनराज निरौलाले पूर्वप्रशासक तथा साहित्यकार पुण्य निरौला र संस्कृतिविद् एवं चलचित्रकर्मी चेतन कार्कीको योगदानबारे चर्चा गर्नुभएको थियो ।

सम्मानित व्यक्तित्वका तर्फबाट देवेन्द्र थुम्केलीले आयोजक संस्थालाई धन्यवाद दिनुभयो । कार्यक्रम चलचित्र निर्देशक तथा सञ्चारकर्मी माधवराज खरेलले सञ्चालन गर्नुभएको थियो । परिवर्तन नेपालका उपाध्यक्ष तथा कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले कलाकारलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो ।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, अभिनेता कृष्ण मल्ल, अभिनेत्री शर्मिला मल्ल, चलचित्र संघका कार्यवाहक अध्यक्ष गोपालकाजी कायस्थ, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, उपाध्यक्ष रघुनाथ सापकोटालगायत कलाकार, चलचित्रकर्मी तथा साहित्यकारको उपस्थिति थियो ।

यसमा तपाइको मत

अन्य समाचार