किड्स जीनियस स्टार अफ नेपाल-२०२६ : आरोहा र प्रयुशा विजेता, ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक

काठमाडौं,
असोज १९ ।

बालबालिकामा लुकेर रहेको गायन तथा नृत्य प्रतिभाको खोजी, प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले आयोजित ‘किड्स जीनियस स्टार अफ नेपाल-२०२६’ को ग्राण्ड फिनाले विविध सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न भएको छ । जिनियस डिजिटल म्युजिक प्रालिको आयोजनामा सम्पन्न कार्यक्रममा गायनतर्फ आरोहा पौडेल र नृत्यतर्फ प्रयुशा अधिकारी विजेता बन्नुभएको छ । गायनतर्फ आरोशी गिरी द्वितीय र पलक दुम्जन तृतीय हुनुभयो भने भने नृत्यतर्फ सुबिहानी तामाङ द्वितीय र सायाङ लामा तृतीय हुनुभयो ।

चलचित्र कलाकार संघका पूर्वअध्यक्ष तथा वरिष्ठ कलाकार मोहन निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष तथा वरिष्ठ कलाकार उत्तम केसी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा महाकाव्यकार खेमनाथ दाहाल, प्रस्तोता समाजका अध्यक्ष नरहरि प्रेमी, पत्रकार तथा मिलाप फाउण्डेशन अध्यक्ष गीता अधिकारी, गायिका सारिका घिमिरे, गायक तथा संगीतकार योगेश काजी शाह, कार्यक्रम व्यवस्थापन संघका अध्यक्ष राजेन्द्र लुइँटेल, गायक तथा संगीतकार राजेन्द्र बजगाईं, गायक तथा संगीतकार चेतन राईलगायत साहित्य-कला, गीत-संगीत, पत्रकारिता तथा मनोरञ्जन क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो ।

प्रतियोगिताको नृत्य विधामा वरिष्ठ नृत्य निर्देशक कमल राई, वरिष्ठ नृत्य निर्देशक तथा नृत्य निर्देशक संघका पूर्वकेन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ र कलाकार पूजना प्रधान गुरुङ निर्णायक रहनुभएको थियो । त्यसैगरी, गायन विधामा वरिष्ठ संगीतकार राजु सिंह, गायक तथा संगीतकार भानुभक्त ढकाल र गायिका जुनु रिजाल निर्णायक हुनुहुन्थ्यो ।

ग्राण्ड फिनालेमा सहभागी बालप्रतिभाहरूले गायन तथा नृत्यका आकर्षक प्रस्तुति दिएका थिए । विजेता तथा उपविजेतालाई पुरस्कार, ट्रफी तथा सम्मान प्रदान गरिएको थियो ।

चलचित्र विकास बोर्डका सदस्य गीतकार सर्जक गणेश सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रमका अवसरमा कला, पत्रकारिता तथा चलचित्र क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वलाई समेत सम्मान गरिएको थियो । सो अवसरमा पत्रकार स्वस्तिका पन्थी, निर्माता हर्षकुमार यादव तथा चलचित्र विकास बोर्डका सदस्य एवं छायांकार वीरेन्द्रप्रसाद भट्टलगायतलाई सम्मान गरिएको थियो ।
गायक तथा संगीतकार चेतन राई, गायक तथा संगीतकार रमेश पाठक तथा गायक रामकृष्ण श्रेष्ठलगायत कलाकारको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो ।

जिनियस स्टार अफ नेपालका अध्यक्ष तथा नृत्य निर्देशक टेक लामा छिरिङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको निर्देशक रमेश पाठक रहनुभएको थियो संयोजन तथा नृत्य निर्देशक कृष्ण रसलले गर्नुभएको थियो ।

आयोजकका अनुसार प्रतियोगिताले बालबालिकामा लुकेर रहेका गायन तथा नृत्य प्रतिभाको पहिचान गरी उनीहरूलाई उचित अवसर, प्रशिक्षण र प्रोत्साहन प्रदान गर्ने उद्देश्यलाई थप बलियो बनाएको छ । आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी बनाउँदै नेपाली कला, संगीत तथा संस्कृतिमा नयाँ पुस्ताका प्रतिभालाई अघि बढाउने अभियानलाई निरन्तरता दिइने निर्देशक रमेश पाठकले बताउनुभयो ।

‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक
सो अवसरमा गायक तथा संगीतकार रमेश पाठकको शब्द, संगीत तथा स्वरमा तयार भएको प्रेमगीत ‘हाम्रो माया कहिल्यै छुट्दैन’को अडियो तथा भिडियो पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा महाकाव्यकार क्षेमनाथ दाहाल, वरिष्ठ नृत्य निर्देशक कमल राई, वरिष्ठ नृत्य निर्देशक भुवन दास श्रेष्ठ, कलाकार पूजना प्रधान गुरुङ, वरिष्ठ संगीतकार राजु सिंह, गायक तथा संगीतकार भानुभक्त ढकाल, नृत्य निर्देशक टेक लामा छिरिङ लगायतले उक्त भिडियोको विमोचन गर्नुभएको थियो ।

‘हाम्रो माया कहिल्यै छुट्दैन’मा रमेश पाठक र बेनीशा पौडेलको स्वर रहेको छ । गीतमा संगीत संयोजन रामकृष्ण थापाले गर्नुभएको छ भने अतिरिक्त संगीत उत्पादन तथा बिजीएम योगेश काजी शाहको रहेको छ । गीतको रेकर्डिङ विनोद महताराले गर्नुभएको हो भने मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गर्नुभएको छ ।

गीतको भिडियोमा आकाश श्रेष्ठ र अलिना गुरुङको मुख्य अभिनय छ । भिडियोको कोरियोग्राफी रोशन विश्वकर्माले गर्नुएको छ भने छायांकन दिनेश पराजुली, मेकअप सपना लाम्साल तथा दृश्य सम्पादन र कलर डिन्सन शाहले गर्नुभएको छ । भिडियोको निर्देशन भने स्वयं रमेश पाठकले गर्नुभएको हो । प्रेम, समर्पण र सम्बन्धको भावनालाई केन्द्रमा राखिएको भिडियोमा प्रेम सम्बन्धमा आउने विभिन्न उतारचढावका बीच पनि साँचो प्रेम कहिल्यै नछुट्ने भावलाई गीत तथा भिडियोमार्फत प्रस्तुत गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार