ललितपुर,
असोज ७ ।
नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’को ट्रेलर सार्वजनिक गरिएको छ । ललितपुरस्थित लबिम मलमा आयोजित कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
डिजास्टर जनरामा निर्माण भएको यो चलचित्र यही असोज २३ गते (अक्टोबर ९)देखि नेपाल र भुटानका हलमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा नेपाल र भुटानका निर्माता, कलाकार तथा प्राविधिक सहभागी थिए । भुटानबाट १६ सदस्यीय टोली कार्यक्रममा सहभागी हुन नेपाल आएको थियो ।
चलचित्रको ट्रेलरमा भुटानको एक जलविद्युत् आयोजनाको सुरुङभित्र भएको दुर्घटना र त्यसपछि उत्पन्न संकटलाई प्रस्तुत गरिएको छ । निर्माण पक्षका अनुसार चलचित्र भुटानमा घटेका वास्तविक घटनाबाट प्रेरित छ । कथालाई विश्वसनीय बनाउन कृत्रिम सेटमा मात्र नभई कथाबाट प्रेरणा लिइएको भुटानस्थित वास्तविक सुरुङभित्र समेत महत्वपूर्ण दृश्यको छायांकन गरिएको छ ।
चलचित्रको छायांकन करिब १०० दिनमा सम्पन्न गरिएको हो । सुरुङभित्रको दुर्घटना, त्यसपछि सिर्जना हुने संकट र पात्रहरूले सामना गर्ने परिस्थितिलाई ट्रेलरमा प्राथमिकताका साथ देखाइएको छ । दृश्य प्रभाव तथा भीएफएक्समार्फत चलचित्रलाई अन्तर्राष्ट्रियस्तरको दृश्यात्मक स्वरूप दिने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका मुख्य कलाकार तथा निर्माता सङ्गे छेल्ट्रिमले नेपालमा हालै आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै फिल्मको आम्दानीको हिस्सा राहतका लागि सहयोग गर्ने घोषणा गर्नुभयो । उहाँले चलचित्रबाट प्राप्त कुल आम्दानीको २५ प्रतिशत अर्थात् आफ्नो सेयरको ५० प्रतिशत रकम नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने बताउनुभयो ।
छेल्ट्रिमले ‘टनेल २६’ हलिउडस्तरको बनेको दाबी गर्दै नेपाल र भुटानका कलाकार तथा प्राविधिकले गरेको सहकार्यप्रति उत्साहित रहेको बताउनुभयो ।
चलचित्रमा नेपाली अभिनेता प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा जोडिनुभएको छ । उहाँले चलचित्रको रचनात्मक तथा कलात्मक विकासमा समेत योगदान गर्नुभएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा खड्काले निर्माता निर्वाण चौधरी तथा भुटानका कलाकार र प्राविधिकसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले आफू चलचित्रमा निर्माताका रूपमा मात्र जोडिएको र अभिनय नगरेको स्पष्ट पार्नुभयो ।
निर्माता निर्वाण चौधरीले नेपाल र भुटानका टिमसँग सहकार्य गरेर चलचित्र निर्माण गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले आफ्ना बुबा बिनोद चौधरीले करिब चार दशकअघि चलचित्र निर्माण गरेको स्मरण गर्दै आफूले पनि फिल्म निर्माणलाई निरन्तरता दिने बताउनुभयो ।
चलचित्रको लेखन, निर्देशन तथा सम्पादन डीडी किन्लेले गर्नुभएको हो । चलचित्रमा सङ्गे छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादालगायतको अभिनय छ ।
चलचित्रलाई सङ्गे फिल्म्स र पिक एक्सभीले प्रस्तुत गर्नुभएको हो । निर्माणमा दोर्जी वाङ्चुक नेतृत्वको डोर्जिस प्रोडक्सन, प्रशान्तकुमार गुप्ता तथा कृष्ण गुप्ताको नेतृत्वको रेल्टिक पिक्चर्स, भुटान सरकार अन्तर्गतको DoMCIIP तथा निर्देशक किन्लेको रोलिङ इमेज पिक्चर्सको सहकार्य रहेको छ । दोर्जी वाङ्चुक कार्यकारी निर्माता हुनुहुन्छ ।
चलचित्रको छायांकन दीर्घ गुरुङ र सङ्गे टी. तेन्जिङले गर्नुभएको हो । राजु तामाङ एक्सन निर्देशक, कृष्ण शर्मा निर्माण डिजाइनर र पेमा लामो निर्माण व्यवस्थापकका रूपमा हुनुहुन्छ । चलचित्रमा नेपाल, भुटान र भारतका कलाकार तथा प्राविधिकको सहभागिता रहेको छ ।
चलचित्रको संगीत तथा ध्वनिसम्बन्धी काम थाइल्यान्डमा गरिएको हो । तेर्डसाक जानपानले पृष्ठभूमि संगीत तथा करण थामावोङले ध्वनि डिजाइन र पुनः रेकर्डिङ मिक्सिङ गर्नुभएको छ । दृश्य प्रभाव निफान स्टुडियोले तयार पारेको हो । नेपालमा चलचित्रको व्यवस्थापन लिभेन्ट्स स्टुडियो प्रा.लि.ले गरेको छ ।
यसअघि चलचित्रको टिजर अगस्ट १४ मा सार्वजनिक गरिएको थियो । निर्माण पक्षका अनुसार टिजरले नेपाल र भुटानसँगै युरोप तथा उत्तर अमेरिकाका दर्शक र अन्तर्राष्ट्रिय वितरकको ध्यानसमेत आकर्षित गरेको थियो ।
नेपाल र भुटानमा प्रदर्शनपछि यस चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने तयारी गरिएको छ । एसिया तथा उत्तर अमेरिकालगायतका बजारमा अन्तर्राष्ट्रिय वितरण साझेदारमार्फत फिल्म प्रदर्शन गर्ने योजना निर्माण पक्षको छ ।
नेपाल र भुटानका निर्देशक, निर्माता, कलाकार तथा प्राविधिकलाई एउटै परियोजनामा जोडेको ‘टनेल २६’ले आगामी दिनमा दुई देशबीच थप सिर्जनात्मक तथा व्यावसायिक सहकार्यको सम्भावना बढाउने विश्वास निर्माण टिमले व्यक्त गरेको छ ।






