काठमाडौं,
असोज ७ ।
यस वर्षको बडा दशैंको फूलपातीका दिन प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘छ माया छपक्कै २’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘माया छपक्कै’ बोलको शीर्ष गीत मंगलबार साँझ सार्वजनिक गरिएको हो ।
गीत साँझ ५ बजे सार्वजनिक गर्ने तयारी भए पनि केही प्राविधिक समस्याका कारण निर्धारित समयभन्दा करिब साढे तीन घण्टा ढिला गरी सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ । ढिला गरी सार्वजनिक भए पनि गीत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा दर्शकले उत्साहजनक प्रतिक्रिया जनाइरहेका छन् ।
गीतप्रति प्रतिक्रिया दिँदै कतिपय दर्शकले ‘ढिला आयो, कडा आयो’ भन्दै रमाइलो शैलीमा टिप्पणी गरेका छन् । गीतको शब्द, संगीत तथा प्रस्तुतिलाई लिएर पनि सकारात्मक प्रतिक्रिया आइरहेको छ ।
आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको संयुक्त प्रस्तुतिमा निर्माण भएको चलचित्रको शीर्ष गीतमा करण परियार, अभि सुनार, विशाल निरौला र रश्मी विश्वकर्माको सामूहिक स्वर रहेको छ । गीतमा शब्द तथा संगीत अभि सुनारको रहेको छ भने विशाल निरौलाले एरेन्ज र मिक्सिङ तथा मास्टरिङ रञ्जन राईले गर्नुभएको छ ।
गीतमा समीरण जयुरु (सनाई), रत्न बि.के. (बाँसुरी), भुवन गन्धर्व (रिदम) र सञ्जीव बराइली (गिटार)ले वाद्यवादन गर्नुभएको छ ।
दीपेन्द्र लामाको निर्देशनमा बनेको चलचित्रमा दीपकराज गिरीले ‘राजा’को मुख्य भूमिका निर्वाह गर्नुभएको छ । उहाँको साथमा केकी अधिकारी, दीपाश्री निरौला, सनिशा भट्टराई, कर्म शाक्य, प्रकाश घिमिरे, रमा थपलिया, निर्मल शर्मा, शारदा गिरी (काली आमा), मेक्सम गौडेल, विष्णु सापकोटा, रबिन्द्र झा लगायतका कलाकारको अभिनय छ ।
चलचित्रको कथा तथा पटकथा दीपकराज गिरीले तयार पार्नुभएको हो । कलाकार सल्लाहकार दीपाश्री निरौला हुनुहुन्छ भने निर्माता रोहित अधिकारी हुनुहुन्छ । कार्यकारी निर्मातामा निर्मल शर्मा र सुरज बम ठकुरी रहनुभएको छ ।
चलचित्रमा सुशान प्रजापति, आलोक शुक्ला र विशाल प्रजापतिको छायाङ्कन, बिपिन मल्लको सम्पादन, किरण थापाको नृत्य निर्देशन तथा तुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ ।
चलचित्रको वितरण एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले गर्नेछन् भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । चलचित्र यही बडा दशैंको फूलपाती अर्थात् असोज २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।






