काठमाडौं,
असोज ६ ।
रेखा यादव निर्झरको कथाकृति ‘प्रश्न?’ को लोकार्पण गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, पूर्व मन्त्री शरदसिंह भण्डारी, वरिष्ठ समालोचक प्रमोद प्रधान, साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र कथाकार यादव लगायतले उक्त कृति लोकार्पण गर्नुभएको हो ।
प्रमुख अतिथि यादवले राजनीतिक परिवर्तन आएको भएपनि व्यवहारिक रुपमा सोचे अनुरुप नभएकोले जनताले दुख पाएको बताउनुभयो । उहाँले के को लागि लेख्ने भन्ने बारेमा पनि प्रष्ट पार्नुभयो ।
समालोचक प्रमोद प्रधानले कृतिको रुपमा कथाकार यादवको पाँचौ कृति भएपनि कथासङ्ग्रहको रुपमा यो पहिलो भएको भन्दै कथाका विषयवस्तु हाम्रै समाजको उपज भएको भन्दै कथाकारले आफूले देखे भोगेका कुराहरूमा कथानक बुनेको बताउनुभयो ।
प्राडा विनोदकुमार विश्वकर्माले कृतिमा समावेश भएका २२ वटै कथाको हिन्दी भाषामा समीक्षा गर्नुभयो ।
सभाध्यक्ष राधेश्याम लेकालीले सबैलाई स्वागत गर्दै कथाकारको बारेमा संंक्षिप्त प्रकाश पार्नुभएको थियो । उहाँले कथाकार यादव साहित्यकार, समाजसेवी र राजनीतिक व्यक्तित्व रहेको बताउनुभयो ।
कार्यक्रममा पुस्तक प्रकाशक बलराम महतो, पूर्व मन्त्री शरत सिंह भण्डारीले रेखा यादवको साहित्य सिर्जनाका बारेमा संक्षेपमा प्रकाश पार्दै शुभकामना मन्तव्य राख्नुभएको थियो । कथाकार यादवले कथाकृतिको रचना गर्भबारे स्पष्ट पार्नुभयो । कार्यक्रममा कथाकारलाई सम्मानसमेत गरिएको थियो । युवा पत्रकार स्मृति मिश्रले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।






