काठमाडौं,
असोज ६ ।
असोज २३ गतेको रिलिज हुन लागेको चलचित्र ‘टनेल-२६’ को प्रचारप्रसारका फिल्मको भुटानी टोली नेपाल आइपुगेको छ । १६ जनाको टोली सोमबार बिहान नेपाल आइपुगेको हो । उनीहरूका अलावा थप पाँच जना पनि नेपाल आउने बताइएको छ ।
‘टनेल-२६ः द कर्स बिनिथ द माउन्टेन’ नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको हरर चलचित्र हो । चलचित्रको आज (मंगलबार) एक कार्यक्रमबीच ट्रेलर रिलिज हुँदैछ । सोही कार्यक्रममा सहभागी हुन भुटानी निर्माण पक्ष, प्राविधिक र कलाकारको टोली नेपाल आइपुगेको हो ।
टोलीको नेतृत्व यस चलचित्रका निर्मातामध्येका एक संगय छेल्ट्रिमले गर्नुभएको हो । उहाँको स्वामित्वमा रहेको संगय छेल्ट्रिम फिल्म्स यो चलचित्रको निर्मातामध्येको एक कम्पनी हो ।
विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै संगयले फिल्म हलिउड र बलिउडको स्तरमा रहेर काम गरिएको बताउनुभयो । चलचित्रको नेपाली रिलिजलाई लिएर उत्साहित संगयले भन्नुभयो, ‘धेरै उत्साहित छु । टनेल-२६ हामीले एक वर्षभन्दा बढी मिहिनेत गरेर बनाएका हौं । ट्रेलर धेरै राम्रो आएको छ । नेपाल र भुटानको सहकार्य अन्तर्राष्ट्रिय स्तरमा जाने निश्चित भएको छ । नेपाल र भुटानले सहकार्य गरेर बनाएको यो चलचित्र हलिउड र बलिउडका चलचित्रलाई टक्कर दिने गरी बनाएका छौं ।’
चलचित्रमा नेपाली व्यापारिक घराना चौधरी ग्रुपका निर्माण चौधरी र नेपाली अभिनेता प्रदीप खड्कासँगको सहस्वामित्व रहेको पिक एक्सभी स्टुडियोजको ब्यानरले पनि सहकार्य गरेको छ । डीडी किन्ले चलचित्रका लेखक, निर्देशक तथा सम्पादक हुनुहुन्छ ।
चलचित्रमा भारतीय फिल्ममेकर प्रशान्तकुमार गुप्ता, भुटानी अभिनेता तथा निर्माता संगय छेल्ट्रिम र दोर्जी वाङ्चुकसहित विभिन्न निर्माताको पनि निर्माण सहकार्य रहेको छ ।
चलचित्रलाई भुटानको शाही सरकार अन्तर्गतको मिडिया, क्रिएटिभ इन्डस्ट्री तथा इन्टेलेक्चुअल प्रोपर्टी विभागले समेत सहयोग गरेको निर्माण टिमले जनाएको छ । चलचित्रको नेपाल व्यवस्थापन लिभेन्टस् स्टुडियो प्रालिले गरेको हो भने सन्तोषकुमार कार्कीले चलचित्रको व्यवस्थापन सम्हाल्नुभएको छ ।
चलचित्रमा संगय छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादा मुख्य भूमिकामा हुनुहुन्छ । चलचित्रमा दोर्जी वाङ्चुक कार्यकारी निर्माता तथा प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा हुनुहुन्छ ।






