असोज २३ मा ‘टनेल २६ः द कर्स बिनिथ द माउन्टेन’

काठमाडौं,
असोज ४ ।

नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको हरर चलचित्र ‘टनेल २६ः द कर्स बिनिथ द माउन्टेन’ यही असोज २३ गते नेपाल र भुटानका हलमा प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले शनिबार चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

चलचित्रको ट्रेलर भने सेप्टेम्बर २२ मा काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी सार्वजनिक गरिने भएको छ । संगय छेल्ट्रिम फिल्म्स र पिक एक्सभी स्टुडियोजको ब्यानरमा निर्माण भएको चलचित्रमा चौधरी ग्रुपका निर्वाण चौधरी, अभिनेता प्रदीप खड्का, भारतीय फिल्ममेकर प्रशान्तकुमार गुप्ता, भुटानी अभिनेता-निर्माता संगय छेल्ट्रिम तथा दोर्जी वाङ्चुकसहित विभिन्न निर्माताको सहकार्य रहेको छ ।

चलचित्रलाई भुटानको शाही सरकार अन्तर्गतको मिडिया, क्रिएटिभ इन्डस्ट्री तथा इन्टेलेक्चुअल प्रोपर्टी विभागले समेत सहयोग गरेको छ ।

पोस्टरमा अँध्यारो र रहस्यमय सुरुङ देखाइएको छ । सुरुङभित्र केही पात्र देखिन्छन् भने ‘द कर्स बिनिथ द माउन्टेन’ अर्थात् ‘पहाडमुनिको श्राप’लाई चलचित्रको मुख्य विषयका रूपमा प्रस्तुत गरिएको छ । चलचित्रको लेखन, निर्देशन तथा सम्पादन डीडी किन्लेले गर्नुभएको हो ।

चलचित्रमा संगय छेल्ट्रिम, अनुपविक्रम शाही, अन्ना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादा मुख्य भूमिकामा हुनुहुन्छ ।

दोर्जी वाङ्चुक कार्यकारी निर्माता तथा प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा हुनुहुन्छ । प्रदीपका लागि यो चलचित्र चौथो निर्माण सहकार्य हो । यसअघि उहाँले ‘स्केप’, ‘ठूलो मान्छे’ र ‘एक्लो’ निर्माणमा सहकार्य गर्नुभएको थियो ।

नेपाल, भुटान र भारतका कलाकार तथा प्राविधिकको सहभागिता रहेको चलचित्र नेपाल र भुटानमा प्रदर्शन गरेपछि अन्तर्राष्ट्रिय बजारमा समेत लैजाने तयारी छ । निर्माण टिमका अनुसार एसिया तथा उत्तर अमेरिकालगायतका बजारमा अन्तर्राष्ट्रिय वितरण साझेदारमार्फत चलचित्र प्रदर्शन गर्ने योजना छ ।

चलचित्रको छायांकन दीर्घ गुरुङ र संगय टी तेन्जिङले गर्नुभएको हो । राजु तामाङ एक्सन निर्देशक, कृष्ण शर्मा निर्माण डिजाइनर, पेमा लामो निर्माण व्यवस्थापक तथा ब्लु छेरिङ दोर्जी मेकअप तथा पोसाक विभाग प्रमुखका रूपमा हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार