छैटौँ नेपाल म्युजिक एन्ड फेसन अवार्ड सम्पन्न

काठमाडौं,
असोज ३ ।

छैटौँ संस्करणको नेपाल म्युजिक एन्ड फेसन अवार्ड-२०२६ तथा छैटौँ नेपाल ब्युटी मेकअप एन्ड कस्मेटिक अवार्ड-२०२६ विभिन्न विधाका उत्कृष्टलाई अवार्ड तथा सम्मान प्रदान गर्दै सम्पन्न भएको छ । स्टार वान इन्टरटेनमेन्ट प्रालि र एसबी क्रिएसन प्रालिले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा आयोजना गरेको समारोहमा नेपाल म्युजिक एन्ड फेसन अवार्डअन्तर्गत गीत–संगीत र म्युजिक भिडियोतर्फ १७ तथा फेसन र मोडलिङतर्फ नौ गरी २६ विधामा अवार्ड प्रदान गरिएको थियो ।

समारोहमा वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा, एसबी क्रिएसनकी अध्यक्ष सरिता भारती लगायतले विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गर्नुभएको थियो । ओएसआर डिजिटललाई चलचित्र एवं संगीत रजत सम्मान, पत्रकार कुमार आचार्यलाई चलचित्र पत्रकारिता रजत सम्मान तथा सामाजिक अभियन्ता अंश वर्मालाई युवा उद्यमी तथा सामाजिक अभियन्ता सम्मान प्रदान गरिएको थियो । यस्तै, वीर अस्पतालका वरिष्ठ चिकित्सक डा. रणजीत झालाई गीत-संगीत तथा चिकित्सा सम्मान प्रदान गरिएको थियो ।

त्यसैगरी चलचित्र निर्माता तथा व्यवसायी जस्मिन श्रेष्ठ र पूजा गुरुङ तथा समाजसेवी उर्मिला शेरचन (अनु) लाई नारी सम्मान प्रदान गरिएको थियो भने कलाकार तथा व्यवसायी देवेन्द्र नेम्वाङ, नृत्य कोरियोग्राफर सरु ढुंगेल र ब्युटिसियन रेश्मा खत्री क्षेत्रीलाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ ।

समारोहमा संगीततर्फ सर्वोत्कृष्ट आधुनिक गीत गायकको अवार्ड ‘किन रुन हुन्न’ बाट प्रमोद खरेलले तथा आधुनिक गीत गायिकाको अवार्ड ‘तिम्रो आँखाको’ बाट सोनी राजभण्डारीले प्राप्त गर्नुभयो । आधुनिक गीत रचनाकारको अवार्ड ‘किन रुनु हुन्न मर्दले’ का लागि राम शर्मा, पप गीत गायनको अवार्ड ‘गाजलु आँखैले’ का लागि आशिष पौडेल तथा चलचित्र गीत गायनको अवार्ड चलचित्र ‘उनको स्वीटर’को ‘फकाउँछ काफ्ले’ गीतका लागि झुमा लिम्बूले प्राप्त गर्नुभयो ।

लोकगीत गायनतर्फ ‘बुझे मैले’ का लागि राधा हमाल बानियाँलाई अवार्ड प्रदान गरिएको थियो । नवोदित मोडलको अवार्ड ‘काली तरेर आउँछु’ का लागि राजन बुढाथोकीले, आधुनिक गीत मोडलको अवार्ड ‘सधैँ तिमी’को भिडियोका लागि प्रवण भुसालले तथा महिला मोडलको अवार्ड ‘पालाम’ (पुरानो माया) का लागि बुद्धरानी लिम्बूले प्राप्त गर्नुभयो । पपगीत मोडलको अवार्ड उमेश भट्टले तथा म्युजिक भिडियो छायाकारको अवार्ड ‘बुझे मैले’ का लागि ओमप्रसाद प्रसाईंले हासिल गर्नुभयो ।

वर्षको सर्वाधिक लोकप्रिय आदिवासी गीतको अवार्ड लिम्बू भाषाको ‘मांगेना लाजाम’ले प्राप्त गरेको थियो । आदिवासी गीत गायकतर्फ ‘पूर्वको मारुनी’ का लागि शम्भु फोम्बो लिम्बू, आदिवासी गीत गायिकातर्फ ‘मिम्जिरे सावन’ का लागि सञ्जु कांलिभा लिम्बू तथा पालाम गीत गायनतर्फ ‘ओ.बी. मेन्वी’ का लागि मञ्जु कांलिभा लिम्बूलाई अवार्ड प्रदान गरियो । आदिवासी गीत गायन जुरी अवार्ड मीरा फियाक लिम्बूले प्राप्त गर्नुभयो ।

आदिवासी म्युजिक भिडियो मोडलको अवार्ड ‘मिम्फुला, भाग-२’ का लागि दिलु पन्धाक मादेन तथा आदिवासी गीत रचनाकारको अवार्ड ‘यसपालिको साकेला’ का लागि अञ्जना राईले पाउनुभयो । नेपाल भाषा संगीतकारतर्फ ‘खुसिया किनार’ का लागि राजु कर्माचार्य र गीतकारतर्फ ‘चिकुलया तः खाः’ का लागि छत्रराज शाक्यलाई अवार्ड प्रदान गरियो ।

फेसनतर्फ सर्वोत्कृष्ट फेसन डिजाइनरको अवार्ड भावनाकुमारी धनुकले प्राप्त गर्नुभयो । सर्वोत्कृष्ट बुटिकको अवार्ड परी बुटिक, पुरानो बानेश्वरका लागि मितु अधिकारीले प्राप्त गर्नुभयो । सर्वोत्कृष्ट सौन्दर्य प्रतियोगिता मोडलको अवार्ड मिसेस युनिभर्स–२०२६ की रनरअप रोजी थापाले तथा सर्वोत्कृष्ट राष्ट्रिय सौन्दर्य प्रतियोगिता विजेताको अवार्ड ‘ब्युटिसियन ट्यालेन्ट नेपाल–२०२६’ की विजेता चाँदनी श्रेष्ठले हासिल गर्नुभयो ।

सर्वोत्कृष्ट फेसन एवं इभेन्ट फोटोग्राफी अवार्ड ब्युटी न्युज नेपालका फोटो पत्रकार बद्री थापाले प्राप्त गर्नुभयो भने सर्वोत्कृष्ट इन्टेरियर डिजाइन फर्निचरको अवार्ड हिमालयन फर्निचर एन्ड सोफा फ्याक्ट्री, भक्तपुरका खड्ग थापाले पाउनुभयो ।

एसबी क्रिएसन प्रालिले आयोजना गरेको छैटौँ नेपाल ब्युटी मेकअप एन्ड कस्मेटिक अवार्ड-२०२६ अन्तर्गत मेकअप विधामा सर्वोत्कृष्ट चलचित्र मेकअप आर्टिस्टको अवार्ड चलचित्र ‘मोहर’का लागि अमृत मरहट्टाले प्राप्त गर्नुभयो । ब्राइडल मेकअप आर्टिस्टको अवार्ड सुमित्रा खवास, पार्टी मेकअप आर्टिस्टको अवार्ड राधा चौधरी तथा मोडल मेकअप आर्टिस्टको अवार्ड लीला राउतले प्राप्त गर्नुभयो ।

नेल विधातर्फ नेल टेक्निसियनको अवार्ड देउकला खेवाङ र नेल आर्टिस्टको अवार्ड बिना राना मगरले पाउनुभयो । हेयर विधामा ब्राइडल हेयर डिजाइनरको अवार्ड लक्ष्मी महर्जन, पुरुष हेयर स्टाइलिस्टको अवार्ड मनीष नेपाल, महिला हेयर स्टाइलिस्टको अवार्ड स्मृति सुब्बा तथा हेयर टेक्निसियनको अवार्ड उषा गुरुङले प्राप्त गर्नुभयो ।

अन्य विधातर्फ मेहेन्दी आर्ट डिजाइनरको अवार्ड रीता तामाङ, फेसियल आर्टिस्टको अवार्ड दुर्गा बुढाथोकी पौडेल, आइलास टेक्निसियनको अवार्ड हिरा राई, माइक्रोब्लेडिङ आर्टिस्टको अवार्ड निशा रजक तथा पर्मानेन्ट मेकअप (ट्याटु) आर्टिस्टको अवार्ड राजेन्द्र पाख्रिनले हासिल गर्नुभयो ।

उत्कृष्ट महिला ब्युटी पार्लर (काठमाडौं)को अवार्ड आरएल ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, टोखाले प्राप्त गर्‍यो । उत्कृष्ट ब्युटिसियन (मोफसल)को अवार्ड पुनर्वास, कञ्चनपुरकी रोशनी श्रेष्ठले तथा उत्कृष्ट ब्युटी पार्लर (मोफसल)को अवार्ड एन्जल ब्युटी सैलुन, बरहथवा, सर्लाहीकी राजेश्वरी श्रेष्ठ (राघी)ले प्राप्त गर्नुभयो ।

त्यसैगरी, उत्कृष्ट युनिसेक्स सैलुन (काठमाडौं)को अवार्ड रस्मिलाज फेसियल हाउस, काठमाडौं मलले तथा उत्कृष्ट ब्युटिसियन ट्रेनिङ सेन्टरको अवार्ड कारा ब्युटिकेयर एन्ड ट्रेनिङ सेन्टर, ललितपुरकी शान्ती शर्माले प्राप्त गर्नुभयो । कस्मेटिकतर्फ बेस्ट सेलिङ हेयर प्रोडक्टको अवार्ड क्राब बोटेक्स हेयर ट्रिटमेन्ट एन्ड स्याम्पु तथा बेस्ट सेलिङ मेकअप प्रोडक्टको अवार्ड कलर एसेन्स-कलर लिपस्टिकले प्राप्त गरे ।

समारोहमा ३६० स्टुडियोका कलाकार तथा प्रियँसु न्यौपानेले नृत्य प्रस्तुत गर्नुभएको थियो भने गायक ओम सुनारले गीत प्रस्तुत गर्नुभएको थियो । नेपाल म्युजिक एन्ड फेसन अवार्डको निर्णायकमा अभिनेता तथा मोडल यसराज गराच, गीतकार तथा संगीतकार सुमन पण्डित तथा फेसन विधातर्फ गोमा अधिकारी धिताल रहनुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार