काठमाडौं,
असोज ३ ।
दीपकराज गिरी र दीपाश्री निरौला समूहको नयाँ चलचित्र ‘छ माया छपक्कै २’ दशैँको फूलपातीमा प्रदर्शन हुने भएको छ । शनिबार चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै असोज ३१ गतेलाई प्रदर्शन मिति तय गरिएको हो । विगत केही वर्षदेखि दीपक-दीपाका चलचित्र दशैँमै रिलिज हुँदैआएका छन्, त्यसले यस वर्ष पनि निरन्तरता पाएको हो ।
सार्वजनिक पोस्टरमा चलचित्रका तीन मुख्य कलाकार दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराई देखिनुभएको छ । केकी र सनिशा गर्भवती अवस्थामा चित्रित हुनुहुन्छ भने उहाँहरूको बीचमा उभिनुभएका दीपक भगवान् कृष्णले झैँ बाँसुरी बजाइरहेको देखिनुहुन्छ । यसले चलचित्रको कथा पारिवारिक सम्बन्ध र वैवाहिक जीवनको उतारचढावमा आधारित रहेको संकेत गर्छ ।
आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आईएमईको संयुक्त प्रस्तुतिमा निर्माण भएको यस चलचित्रमा दीपक, केकी र सनिशासहित निर्मल शर्मा (गैंडा), कर्मा शाक्य, जितु नेपाल (मुन्द्रे), रिहान गिरी, रवीन्द्र झालगायतका कलाकारहरूको अभिनय छ । केही दिनमा अमेरिकाबाट नेपाल आउन लाग्नुभएका कलाकार केदार घिमिरे (माग्ने बुढा) पनि चलचित्रमा हुने चर्चा छ ।
दीपेन्द्र लामाको निर्देशनमा बनेको यस चलचित्रका निर्माता रोहित अधिकारी हुनुहुन्छ । रोहितले यसअघि ‘छ माया छपक्कै’, ‘गाजलु’, ‘फर्की फर्की’ र ‘माइतीघर’ जस्ता चलचित्र निर्माण गरिसक्नुभएको छ । दीपक-दीपासँग उहाँको यो दोस्रो सहकार्य हो । निर्मल शर्मा र सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रमा दीपकराज स्वयंको लेखन छ ।






