काठमाडौं,
भदौ ३० ।
नेपाली महिलाले आज अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी पर्व मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा महिलाले बिहानै उठेर स्नान गरी दत्तिवन, गोबर, माटो र खरानी प्रयोग गर्ने तथा पञ्चगव्य सेवन गर्ने परम्परा छ ।
यस वर्ष चौथी तिथि टुटेकाले तीज व्रतको पारायण गरेपछि ऋषि पञ्चमीको स्नानलगायत धार्मिक कर्म गर्नुपर्ने धर्मशास्त्रीहरूको मत छ । हरितालिका तीजको व्रत महिला-पुरुष दुवैले गर्न सक्ने भए पनि ऋषि पञ्चमी महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन छ ।
ऋषि पञ्चमीमा अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र गरी सप्त ऋषिको पूजा गरिन्छ । धार्मिक मान्यताअनुसार रजस्वलाका समयमा भएका त्रुटि तथा छुइछुतको दोषबाट मुक्ति पाउन ऋषि पञ्चमीमा सप्त ऋषिको पूजा गर्ने परम्परा रहिआएको छ ।
पूजा सकेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल तथा कर्कलालगायतका परिकार खाएर एक छाक हविष्य बस्ने प्रचलन छ ।
ऋषि पञ्चमीका अवसरमा काठमाडौंको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरमा महिला श्रद्धालुको भीड लाग्ने गर्छ । मन्दिर जान नसक्नेले नदी किनार वा घरमै सप्त ऋषिको पूजा आराधना गर्ने गरेका छन् ।







