काठमाडौं,
भदौ ३० ।
क्रिएटिभ इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (सिआईएफटी)को आयोजनामा राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वल्र्ड नेपाल २०२६’ आयोजना हुने भएको छ । प्रतियोगिताका लागि आवेदन खुला गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा १६ देखि ३२ वर्ष उमेर समूहका युवतीले सहभागिता जनाउन सक्नेछन् । सहभागीका लागि न्यूनतम १५५ सेन्टिमिटर उचाइ र एक हजार रुपैयाँ आवेदन शुल्क तोकिएको छ ।
आगामी असोज १० गते अडिशन हुने तथा त्यसबाट छनोट हुने २५ जना प्रतियोगीलाई कोरियोग्राफर रोजिन शाक्यको नेतृत्वमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको ग्राण्ड फिनाले मंसिर ५ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा हुनेछ ।
प्रतियोगिताबाट ‘मिस ग्ल्याम युनिभर्स नेपाल’, ‘मिस ग्ल्याम वल्र्ड नेपाल’ र ‘मिस टिन ग्ल्याम वल्र्ड नेपाल’का लागि प्रतिनिधि छनोट गर्ने तयारी गरिएको छ । मुख्य विजेताले भारतमा आयोजना हुने ‘मिस ग्ल्याम वल्र्ड–२०२६’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
सिआइएफटीकी प्रमुख सुचिता सचीका अनुसार प्रतियोगितामा सौन्दर्यसँगै व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, प्रतिभा, प्रस्तुति शैली र सामाजिक चेतनालाई समेत मूल्यांकन गरिनेछ ।







