काठमाडौं,
भदौ ३० ।
दर्जनौं चलचित्रका निर्माता तथा निर्देशक किशोर सुब्बाले तेस्रो ‘राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड-२०८३’ मा सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड प्राप्त गर्नुभएको छ ।
‘सङ्गीत नै हो हाम्रो नाम, सङ्गीत नै हो हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ आयोजित समारोहमा गीत-सङ्गीत तथा चलचित्र क्षेत्रका विभिन्न २४ विधामा सर्जक तथा कलाकारलाई अवार्ड प्रदान गरिएको हो । विगत तीन वर्षदेखि आयोजना हुँदै आएको अवार्डमा पब्लिक च्वाइस विधासमेत समावेश गरिएको थियो । अवार्ड समारोहमा गायिका तपस्या राईले सर्वोत्कृष्ट पप गायिकाको अवार्ड हात पार्नुभयो ।
आयोजक संस्था ओप्सना फिल्म्स एण्ड म्युजिकका निर्देशक ओमप्रकाश राईको सभापतित्व तथा विशिष्ट कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा समारोह सम्पन्न भएको हो ।
समारोहमा विशिष्ट गायक दीपक खरेल र वरिष्ठ गीतकार बुद्धवीर लामा ‘जीवन साधना सम्मान’बाट सम्मानित हुनुभयो । त्यस्तै, वरिष्ठ गायक आनन्द कार्की र प्रदीपराज पाण्डेलाई ‘विशिष्ट गायन रत्न सम्मान’ प्रदान गरिएको थियो ।
गीत-सङ्गीत तथा चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुर्याएका अन्य १२ जना सर्जक तथा कलाकारलाई पनि विभिन्न शीर्षकमा सम्मान गरिएको आयोजकले जनाएको छ ।
अवार्डको जुरी सदस्यमा सङ्गीतकार राजु सिंह, सङ्गीत संयोजक अशोक लोहोरुङ राई, चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बा र हास्य कलाकार दिवाकर भण्डारी रहनुभएको थियो ।







