काठमाडौं,
भदौ ३० ।
गजलकार दम्पती राधा कणेल र घनेन्द्र ओझाको शब्द रहेको गीत ‘हिक्कहिक्क बाडुली’ सार्वजनिक भएको छ । ‘काव्या आचार्य’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा दीपक पाण्डेको संगीत छ । गीतमा काव्या आचार्य र विनोद दनुवारले स्वर दिनुभएको छ ।
परदेश गएको प्रेमी र घरदेशमा रहेकी प्रेमिकाबीचको प्रेम, सम्झना र मिलनको अपेक्षालाई गीतले प्रस्तुत गरेको छ । परदेशमा रहेका प्रेमी प्रेमिकाको सम्झनामा छट्पटाइरहेका छन् भने घरदेशकी प्रेमिका आफ्नो प्रेमीको प्रतीक्षामा छिन् ।
गीतमा पवन रानाभाटको संगीत संयोजन तथा मनोज परियारको संगीत सञ्चयन र सम्पादन छ । गीतले परदेशी जीवनको पीडा र प्रेममा रहेका दुई मनको दूरीलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ ।







