काठमाडौं,
भदौ ३० ।
चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्र ‘आ बाट आमा २’को फर्ष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । हरितालिका तीजको अवसर पारेर सोमबार सार्वजनिक गरिएको पोष्टरले चलचित्रको कथावस्तुबारे संकेत गरेको छ ।
‘चर्किएको यो घरले फेरि सोध्यो, यो दशैँमा पनि तिम्रो सन्तान आएन है आमा ?’ भन्ने मर्मस्पर्शी वाक्यसहित सार्वजनिक पोष्टरमा विपना थापा, पल शाह र साइग्रेस पोखरेललाई मुख्य भूमिकामा देखाइएको छ । पोष्टरमा हाँसो, खुशी, पीडा र रोदनका भावलाई प्रस्तुत गरिएको छ ।
ग्रामीण परिवेशलाई पृष्ठभूमिमा राखिएको पोष्टरमा पासपोर्ट, आकाशमा उडिरहेको विमान, चर्किएको घरको भित्ता र फुटेका फोटो फ्रेम समावेश छन् । यी दृश्यले फिल्म वैदेशिक रोजगारी र त्यसले निम्त्याउने पारिवारिक विग्रहको कथामा आधारित रहेको संकेत गर्छ । लिंगे पिङ र टीका लगाएका दृश्यले दशैँको माहोललाई पनि चित्रण गरेको छ ।
द्वन्द्व निर्देशकका रूपमा परिचित चन्द्र पन्तको निर्देशन तथा लेखन रहेको चलचित्रमा विपना, पल र साइग्रेससहित स्व.प्रदीप रावत, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, गजित विष्ट, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, नरेन खड्का र दीलिप अखेडालगायतको अभिनय छ । भारतीय कलाकार प्रदीप रावतको यो अन्तिम नेपाली फिल्म रहेको निर्माण पक्षले जनाएको छ ।
आर्या इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको सम्पादन साहिल खान र मिलन श्रेष्ठले गरेका छन् । नेपाल र बेलायतमा छायांकन गरिएको फिल्मको हङकङ र क्रोएसियालगायतका देशमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ । दशैँको अवसर पारेर असोज ३० गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘आ बाट आमा’को पहिलो भागले बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो ।







