तीज पर्व आजदेखि

काठमाडौं,
भदौ २८ ।

हरितालिका (तीज) पर्वका अवसरमा नेपाली महिलाले आइतबार दर खाँदैछन् । भाद्र शुक्ल द्वितीयाका दिन माइती तथा दाजुभाइले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । व्रतका दिन निराहार बस्नुपर्ने भएकाले आज पौष्टिक तथा आडिलो परिकार खाने गरिन्छ ।

धर्मशास्त्रविद्हरूका अनुसार दर भाद्र शुक्ल द्वितीयाको बेलुकी दुई भाग रात हुनुअघि खाइसक्नुपर्ने शास्त्रीय विधान छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश पूजा तथा पञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज पर्व समापन हुन्छ ।

तीज महिलाले वर्षभरिका दुःख, पीर र मर्का गीत तथा भेटघाटमार्फत पोख्ने पर्वका रूपमा पनि मनाउने गरेका छन् । पार्वतीले महादेवलाई पति पाउन गरेको कठोर तपस्या र व्रतसँग जोडिएको तीजमा पशुपतिनाथलगायत देशभरका शिवालयमा महिलाको ठूलो भीड लाग्ने गर्छ । तीजसँगै नेपाली समाजमा पर्वको माहोल सुरु हुने र त्यसपछि बडादसैँ तथा तिहारजस्ता प्रमुख पर्व आउने गर्छन् ।

यस वर्ष भदौ १०मा भोटे कोशीमा आएको बाढीले पुर्‍याएको व्यापक क्षतिका कारण तीज पर्वमा विगतका वर्षमा जस्तो उल्लासमय हुन सकेको छैन ।

यसमा तपाइको मत

अन्य समाचार