काठमाडौं,
भदौ २८ ।
नेपाली गजलको उन्नयनमा दुई दशकदेखि सक्रिय अनाममण्डलीले १६१औँ मोतीजयन्तीका अवसरमा आदिगजलकार मोतीराम भट्टको सालिकमा माल्यार्पण गर्दै गजलवाचन कार्यक्रम आयोजना गरेको छ । शुक्रबार नेपाल प्रज्ञाप्रतिष्ठान परिसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानको काव्य तथा संस्कृति र डिजिटलाइजेसन विभागका प्रमुख दीपक सापकोटा, अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कार, पूर्वअध्यक्ष घनेन्द्र ओझालगायतले मोतीरामको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गर्नुभयो । नेपाल प्रज्ञाप्रतिष्ठानमा अनाममण्डलीले २०७२ सालमा मोतीरामको सालिक स्थापना गरेको थियो ।
कार्यक्रममा विश्व कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठले मोतीराम भट्टका गजल गाउनुभएको थियो । गजलकार राधा कणेल र केशव भट्टराईले भट्टका गजल तरन्नुममा वाचन गर्नुभएको थियो ।
सो अवसरमा काव्य विभाग प्रमुख सापकोटाले आदिगजलकार मोतीराम भट्ट तथा नेपाली गजलको सम्मानमा नयाँ प्राज्ञ परिषद्ले पहिलो बैठकबाटै कुशे औँसीलाई ‘राष्ट्रिय गजल दिवस’का रूपमा मनाउने निर्णय गरेको जानकारी दिनुभयो ।
भोटेकोशी बाढीका कारण यस वर्ष कुशे औँसीका अवसरमा आयोजना गर्ने भनिएको गजलसम्बन्धी कार्यक्रम केही समयका लागि सारिएको उहाँले बताउनुभयो ।
सापकोटाका अनुसार आगामी असोज १६ गते ‘मोती-लय’ कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रममा सातै प्रदेशबाट नयाँ पुस्ताका २१ जना र अग्रज पुस्ताका १० जना गजलकारका गजल विशेष रूपमा वाचन गरिनेछ ।
कार्यक्रममा ११ जना कलाकारले मोतीराम भट्टका चित्र बनाउनेछन् भने उहाँका गजलमा अभिनयसमेत प्रस्तुत गरिने सापकोटाले जानकारी दिनुभयो ।







