काठमाडौं,
भदौ २२ ।
नेपाली चलचित्र ‘पेन्सन पट्टा’को दोस्रो गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक भएको छ । प्रेम र मायाको भाव समेटिएको गीत आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।
सुरज तामुको शब्द तथा संगीत रहेको गीतमा सुज र शान्ति श्री परियारको स्वर छ । गीतमा मनोज थापा मगरले संगीत संयोजन गर्नुभएको छ । मौलिक स्वाद प्रस्तुत गरिएको गीतको भिडियोमा अभिनेता मनोज गुरुङ र अनुशा राईलाई देख्न सकिन्छ । गीतले चलचित्रको प्रेमकथा तथा पात्रहरूबीचको सम्बन्धलाई संकेत गरेको छ ।
माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ले लाहुरे जीवन, पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र पहिचानका विषयलाई कथाको केन्द्रमा राखेको छ । बाबुको पहिलो पत्नीको नाममा रहेको पेन्सनपट्टाबाट सुरु हुने चलचित्रको कथाले वर्षौंदेखि परिवारबाट ओझेलमा रहेकी जेठी आमाको खोजीसँगै पारिवारिक विगत र सम्बन्धका उतारचढावलाई प्रस्तुत गर्छ ।
चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ र अनुशा राईलगायत कलाकारको अभिनय छ । चलचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट ‘यू’ प्रमाणपत्रसमेत प्राप्त गरेको छ ।
आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्ने चलचित्र ‘पेन्सन पट्टा’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउनेछ ।







