काठमाडौं,
भदौ २२ ।
तीजको छेको पारेर भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘बेहुली’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्रको झन्डै चार मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो ।
सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको यस चलचित्रको ट्रेलरले प्रेम, वियोग, हास्य, रोदन र एक्सनलाई समेट्दै कथावस्तुबारे संकेत गरेको छ । ट्रेलरको केन्द्रमा पारस बम ठकुरी ‘कुल ब्वाय’ र दिव्या रायमाझी देखिनुभएको छ ।
कुनै परिस्थितिका कारण लुकिछिपी हिँडिरहेका पारस र दिव्याबीचको प्रेम तथा त्यसमा आउने उतारचढावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । प्रेमकथासँगै जोगीको भेषमा हुने सुन तस्करी पनि चलचित्रको महत्त्वपूर्ण हिस्सा रहेको ट्रेलरले संकेत गरेको छ ।
ट्रेलरको अर्को रोचक पक्ष दिव्या रायमाझी आफ्नै पिता तथा अभिनेता दिलीप रायमाझीको गेटअपमा देखिनु हो । उहाँको उक्त रूपले दर्शकमा चलचित्रप्रति थप कौतुहलता जगाउने देखिन्छ ।
चलचित्रमा पारस र दिव्यासँगै सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारको अभिनय छ । सुशान्त कार्कीले यही चलचित्रमार्फत करिब आठ वर्षपछि अभिनयमा कमब्याक गर्नुभएको हो ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा संगीतकार अर्जुन पोखरेल प्रस्तुतकर्ता रहनुभएको छ । प्रताप शमशेर राणा निर्माता रहेको चलचित्रमा शंकर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता तथा दुर्गा खरेल र शिशिर श्रेष्ठ सह(निर्माता हुनुहुन्छ । चलचित्रको छायांकन नरेन्द्र मैनालीले गर्नुभएको हो भने सम्पादन विकास दाहाल र बनिष शाहले गर्नुभएको छ ।







