मंसिर पुग्यो ‘बाः एक योद्धा’, बाढीपीडितलाई दुई लाख एक हजार सहयोग

काठमाडौं,
भदौ १६ ।

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै चलचित्र ‘बा: एक योद्धा’को प्रदर्शन स्थगित गरिएको छ । आर्टिस्टिक इन्टरटेन्मेन्ट परिवारले यही भदौ १९ गतेदेखि देशभर प्रदर्शन गर्ने तयारी गरिएको चलचित्रको प्रदर्शन हाललाई स्थगित गरी आगामी मंसिर २४ गते बिहीबारका लागि नयाँ प्रदर्शन मिति तय गरेको जनाएको हो ।

गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि मुलुक शोकमा रहेको र विपद्का कारण सर्वसाधारण पीडामा रहेका बेला सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित चलचित्र प्रदर्शन गर्नु उपयुक्त नहुने निष्कर्षसहित प्रदर्शन स्थगित गरिएको निर्माण पक्षले जनाएको छ । आर्टिष्टिक इन्टरटेन्मेन्टले चलचित्रलाई मनोरञ्जनको माध्यम मात्र नभई मानवीय संवेदनाको संवाहकका रूपमा समेत लिँदै विपद्को समयमा पीडितप्रति ऐक्यबद्धता जनाउन प्रदर्शन स्थगित गरिएको जनाएको छ ।

निर्माण पक्षले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पणगर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, प्रभावित क्षेत्रमा उद्धार तथा राहतको पर्खाइमा रहेका नागरिकलाई तत्काल राहत र उद्धार उपलब्ध गराउनसमेत सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

यसैबीच, ‘बा: एक योद्धा’ परिवारले विपद् प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दुई लाख एक हजार रुपैयाँ सहयोग गरेको जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार