काग तिहारको अघिल्लो दिनदेखि ‘माया भनेकै यस्तो होला’

काठमाडौं,
भदौ १६ ।

अभिनेत्री रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन स्थगित गरिएको छ । भोटेकोशी–त्रिशूली बाढीका कारण मुलुकमा उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै चलचित्रको प्रदर्शन मिति सारिएको हो ।

दिया एण्ड अमु फिल्मस्को निर्माण रहेको चलचित्र यही भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तय भएको थियो । निर्देशक थापाले चलचित्रको प्रदर्शन स्थगित गरिएको जानकारी दिएकी छन् ।

निर्माता तथा अभिनेता दिल श्रेष्ठले पनि पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिएको बताउनुभयो । देश शोकमा रहेका बेला मनोरञ्जनात्मक चलचित्र प्रदर्शन गर्नु उपयुक्त नदेखिएकाले तत्कालका लागि प्रदर्शन रोकिएको उहाँले बताउनुभयो । अब चलचित्र ‘माया भनेकै यस्तो होला’ तिहारको अवसर पारेर कात्तिक २० गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।

यसअघि भदौ १९ गतेदेखि प्रदर्शनमा आउने भनिएको चलचित्र ‘ककाकिकी’ले पनि बाढीबाट उत्पन्न विपत्तिलाई ध्यानमा राख्दै आफ्नो पूर्वनिर्धारित प्रदर्शन स्थगित गरिसकेको छ । बाढीका कारण मुलुकको जनजीवन प्रभावित भइरहेका बेला चलचित्रको प्रदर्शन स्थगित गर्ने निर्णयलाई चलचित्रकर्मीहरूले विपत्तिप्रति संवेदनशीलताको रूपमा लिएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार