अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण

काठमाडौं,
भदौ १६ ।

भोटेकोशी क्षेत्रमा आएको महाविनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ ।

यही भदौ ७ गते सम्पन्न निर्वाचनबाट निर्वाचित कार्यसमितिलाई आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष राजेन्द्र केसीले औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । कार्यक्रमको सुरुवात बाढीमा ज्यान गुमाउनेहरूप्रति एक मिनेट मौनधारणबाट गरिएको थियो । प्रमुख निर्वाचन अधिकृत अधिवक्ता कुमारराज कार्कीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र प्रदान गर्दै पद तथा जिम्मेवारीप्रति प्रतिबद्ध रहने शपथ गराउनुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष मन्जिला अनिल शर्माको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष कमला ओली, उपाध्यक्ष रञ्जना निरौला, महासचिव रमेश दाहाल, सचिव खेमराज न्यौपाने र कोषाध्यक्ष कमला रिसालसहितको कार्यसमितिले जिम्मेवारी सम्हाल्नुभएको छ । शर्माले निर्वाचनका क्रममा व्यक्त प्रतिबद्धता पूरा गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनका लागि रचनात्मक कार्यक्रम अघि बढाउने बताउनुभयो । उहाँले अनेसास नेपाल च्याप्टरका लागि जग्गा दान गर्ने घोषणासमेत गर्नुभयो ।

कार्यक्रममा पूर्वअध्यक्ष राधेश्याम लेकाली, प्राडा.खगेन्द्रप्रसाद लुइँटेल, अनेसास केन्द्रीय सचिव ऋषभदेव घिमिरेलगायत अग्रज साहित्यकार तथा पदाधिकारीको उपस्थिति थियो । वक्ताहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा थप प्रभावकारी भूमिका निर्वाह गर्न सुझाव दिनुभएको थियो ।

निवर्तमान अध्यक्ष केसीले आफ्नो कार्यकालका उपलब्धि र अनुभव साझा गर्दै नयाँ नेतृत्वलाई सकारात्मक कामको निरन्तरता दिन आग्रह गर्नुभयो । बाढीबाट उत्पन्न विषम परिस्थितिमा राहत तथा मानवीय सहयोगका कार्य तत्काल अघि बढाउनुपर्ने भएकाले संस्थागत निर्णय र नियमित गतिविधि सहज बनाउन पद हस्तान्तरण कार्यक्रम आयोजना गरिएको महासचिव रमेश दाहालले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार