काठमाडौं,
भदौ १६ ।
हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर माया-प्रेमको भावनाले भरिएको नयाँ तीज गीत ‘अब त लाहुरे आउँछ भनेर’ सार्वजनिक गरिएको छ । राधिका हमाल र पत्रकारसमेत रहनुभएका गायक रामप्रसाद पाठकको स्वरमा सजिएको गीतमा रामप्रसाद पाठक र विक्रम अधिकारीको शब्द रचना छ । गीतमा पाठककै संगीत छ भने संगीत संयोजन कृष्ण केसीले गर्नुभएको छ ।
सार्वजनिक गीतको भिडियोमा यमन खनाल, जुना कार्की, सन्दीप मगर र रिया सुनारको नृत्य तथा अभिनय छ । सुवास गौतमको निर्देशन रहेको भिडियोमा सरोज ठकुरीको छायांकन तथा रोशन धितालको सम्पादन छ । भिडियो यमन खनालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गायक पाठकले हरितालिका तीजको अवसर पारेर गीत तथा भिडियो दर्शकमाझ ल्याइएको बताउनुभयो । यसअघि पनि विभिन्न गीत सार्वजनिक गरिसक्नुभएका उहाँले नयाँ गीतले पनि श्रोता तथा दर्शकको मन जित्ने विश्वास व्यक्त गर्नुभयो ।







