काठमाडौं,
भदौ १६ ।
ज्येष्ठ नागरिकहरूको हकहित, सम्मान तथा सामाजिक सुरक्षाका लागि २०५२ सालमा स्थापित नेपाल ज्येष्ठ-जन समाजको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न सभामा संस्थापक सदस्य तथा पूर्वअध्यक्ष रामवदन जोशी प्रमुख अतिथि तथा ज्येष्ठ नागरिक महासंघ, नेपालका निवर्तमान अध्यक्ष छत्रबहादुर प्रधान, सीमाविद् बुद्धिनारायण श्रेष्ठ र समाजका सल्लाहकार नातिकाजी महर्जन विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
सभाले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारण गरेको थियो । बाढीपीडितका लागि उपस्थित ज्येष्ठ नागरिकबाट तत्काल ७४ हजार ६४० रुपैयाँ सहयोग संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको समाजले जनाएको छ ।
सभामा सचिव सागरमणि लम्सालले वार्षिक तथा कोषाध्यक्ष सरला प्रधानले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । दुवै प्रतिवेदन सर्वसम्मतिले अनुमोदन गरिएको थियो । भवन निर्माणका लागि आजीवन सदस्य पुष्प चित्रकार र सुवर्णकेशरी चित्रकारले एक–एक लाख रुपैयाँ सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा ८० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो । स्वास्थ्यका कारण उपस्थित हुन नसकेकाहरूलाई घरमै पुगेर सम्मान गर्ने निर्णय गरिएको छ । कार्यक्रममा बुद्धिनारायण श्रेष्ठले ‘ज्येष्ठ नागरिकप्रति सरकारको दृष्टिकोण र अवधारणा’, विधान आचार्यले ‘ज्येष्ठ नागरिकप्रति समाजको दृष्टिकोण’ विषयमा धारणा राख्नुभएको थियो । डा.सविना श्रेष्ठले ज्येष्ठ नागरिकको स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सभामा छत्रबहादुर प्रधानसहित दशजनालाई समाजको आजीवन सदस्यता प्रदान गरिएको थियो ।







