बाढीपहिरोको त्रासदीमा कलाकारको संवेदना, उद्धार र राहत प्रभावकारी बनाउन आह्वान

काठमाडौं,
भदौं ११ ।

नेपाल चलचित्र कलाकार संघले तिब्बततर्फबाट आएको हिमपहिरोका कारण उत्पन्न बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष उत्तम केसीद्वारा जारी वक्तव्यमा बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ ।

संघले विपत्तिबाट प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति प्रकट गरेको छ । साथै, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सम्बन्धित निकायलाई प्रभावकारी रूपमा अघि बढ्न आग्रह गरेको छ ।

कलाकार संघले यस दुःखद् घडीमा सम्पूर्ण कलाकार, सर्जक तथा कलाकर्मीहरू पीडित परिवार र प्रभावित नागरिकको साथमा रहेको प्रतिबद्धता पनि जनाएको छ । संघले विपत्तिमा परेका नागरिकको उद्धार तथा राहतका लागि आवश्यक सहयोग गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

यसैबीच, संघले विपद्को जोखिमलाई ध्यानमा राख्दै सबै नागरिकलाई संयमित रहन तथा नदी र जोखिमयुक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ । साथै, विपत्तिमा परेका नागरिकको सुरक्षाका लागि सम्बन्धित निकायलाई आवश्यक पहल गर्न अपिल गरेको छ ।

यस्तै, विभिन्न कलाकार, संघसंस्था र परिवर्तन नेपालले पनि वक्तव्यमार्फत दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सम्बन्धित निकायलाई प्रभावकारी रूपमा अघि बढ्न आग्रह गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार