काठमाडौं,
भदौ १२ ।
हिमताल फुटेर भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा पुर्याएको जनधनको क्षतिप्रति विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थाका सिर्जनकर्मीले दुःख व्यक्त गरेका छन् । अप्रत्याशित रूपमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिले सम्पूर्ण नेपालीलाई शोकमग्न बनाएको भन्दै उनीहरूले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका हुन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपत्तिमा परेकाहरूको उद्धार तथा सहयोगमा एकजुट हुन सबैमा आह्वान गरेका छन् ।
संयुक्त विज्ञप्तिमार्फत सिर्जनकर्मीहरूले यो समय राष्ट्रिय शोकको समय भएकाले विपत्तिमा परेकाहरूको उद्धार र राहतका लागि सरकार, निजी क्षेत्र तथा नागरिक समाजसँगै सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन् । ‘राष्ट्रिय शोकको यस घडीमा सरकार र निजीक्षेत्रबाट भइरहेका तथा हुने सहयोगप्रति ऐक्यबद्धता’ प्रकट गर्दै उनीहरूले विपत्तिबाट नआत्तिई धैर्यपूर्वक आ-आफ्नो ठाउँबाट उद्धार तथा सहयोगका कार्यमा जुट्न सबैमा आग्रह गरेका छन् ।
विज्ञप्तिमा रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, साहित्यिक पत्रकार संघका अध्यक्ष तथा शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकाली, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, वासु शशि स्मृति परिषद्का अध्यक्ष कालीप्रसाद रिजाल, एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठ, नेपाली कलासाहित्य डट कम प्रतिष्ठानकी अध्यक्ष मोमिला, गुन्जनकी अध्यक्ष जलेश्वरी श्रेष्ठलगायत विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थाका अध्यक्षहरूको हस्ताक्षर छ ।
त्यस्तै, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि, सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल, लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, भूगोल साहित्य समाजका अध्यक्ष विनोद नेपाल, सुनकोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवाल, नेपाल बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्य र लघुकथा समाजका अध्यक्ष तुलसीहरि कोइरालाले पनि विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको छ । विज्ञप्तिका संयोजक राधेश्याम लेकाली रहनुभएको छ ।







