काठमाडौं,
भदौ ९ ।
नेपाली हास्य-व्यंग्य तथा सामाजिक चेतनालाई निरन्तरता दिँदै ब्रान्डवर्थ प्रालिले ‘८३ सालको गाईजात्रा’ कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम भदौ १२, १३ र १४ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा हुनेछ ।
कार्यक्रममा मनोज गजुरेल, शैलेन्द्र सिंखडा, लक्ष्मण गाम्नागे, चक्र दवाडी, सुमन कार्की, मेक्सम गौडेल, प्रभात लामा, सीता न्यौपानेलगायत चर्चित हास्य-व्यंग्य कलाकारले प्रस्तुति दिनुहुनेछ ।
समसामयिक राजनीतिक, सामाजिक, आर्थिक तथा दैनिक जनजीवनका विषयलाई हास्य-व्यंग्य, प्रहसन, प्यारोडी तथा गीत-संगीतमार्फत प्रस्तुत गरिने आयोजकले जनाएको छ । प्रविधि र सामाजिक सञ्जालको प्रभाव, जनताका समस्या तथा पछिल्ला चर्चित घटनालाई समेत व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिनेछ ।
आयोजकका अनुसार नेपाली हास्य-व्यंग्यको मौलिक परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने, कलाकार र दर्शकबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने तथा मनोरञ्जनमार्फत सामाजिक विषयमा संवाद गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा विभिन्न पुस्ताका कलाकार तथा युवापुस्ताको उल्लेख्य सहभागिता रहने जनाइएको छ ।







