काठमाडौं,
भदौ ९ ।
कला तथा संस्कृतिको संरक्षण तथा प्रवर्द्धनसँगै नयाँ पुस्तामा रहेका नृत्य प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले शिव कैलाश कला मन्दिरले आयोजना गरेको उपत्यकाव्यापी छैटौं एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
काठमाडौंको धनेश्वरस्थित शिव कैलाश कला मन्दिरको सभाहलमा बुधबारदेखि सुरु भएको प्रतियोगिता पाँच दिनसम्म सञ्चालन भएको थियो । प्रतियोगितामा उपत्यकाका विभिन्न विद्यालयबाट छनोट भएका कक्षा एकदेखि नौसम्मका विद्यार्थीले विभिन्न विधाका एकल नृत्य प्रस्तुत गर्दै प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा कक्षा एकतर्फ सखी बराल प्रथम, स्मारिका साउद द्वितीय र एरिका भट्ट तृतीय हुनुभयो । कक्षा दुईमा सुनैरा लम्साल प्रथम, अदिति गिरी द्वितीय र आकृति पाण्डे तृतीय हुनुभयो । त्यसैगरी कक्षा तीनमा जेनिशा बुढाथोकी प्रथम, सोफिया तामाङ द्वितीय र बिपिन्सा डंगोल तृतीय हुनुभयो । कक्षा चारतर्फ एञ्जल सिम्खडा प्रथम, स्मारिका ढकाल द्वितीय र शानीलाल कर्ण तृतीय हुनुभयो । कक्षा पाँचमा शिवानी बरदेवा प्रथम, आर्या तामाङ द्वितीय र प्रमिशा आले तृतीय हुनुभयो । कक्षा छमा जेनिशा लोहनी प्रथम, प्रशिक्षा भुसाल द्वितीय र खुसीबु बुढामगर तृतीय हुनुभयो ।
कक्षा साततर्फ सुप्रिया कार्की प्रथम, एमी लामा द्वितीय र सुभाष्ना लामिछाने तृतीय हुनुभयो । कक्षा आठमा एरिश कुँवर प्रथम, जानकी भण्डारी द्वितीय र सकुरा चौलागाईं तृतीय हुनुभयो । कक्षा नौतर्फ रेबिशा गुरुङ प्रथम, सिबिका बोगटी द्वितीय र अञ्जिला सिम्खडा तृतीय हुनुभयो । विद्यालयतर्फ सबैभन्दा बढी ट्रफी जित्दै सभ्यता पाठशाला, रानीवन प्रथम भएको छ । मिलन धर्मस्थली, तारकेश्वर द्वितीय तथा काठमाडौं लिंकन स्कुल, तारकेश्वर तृतीय भएका छन् ।
प्रतियोगिताका प्रत्येक विधामा उत्कृष्ट दशस्थान हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष नारायण रिजालले जानकारी गराउनुभयो । प्रतियोगितामा सहभागी विद्यालयहरूलाई समेत सम्मानपत्र प्रदान गरिएको थियो । पुरस्कार वितरण तथा सम्मान कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
कार्यक्रम संयोजक रोशन बुढाथोकीका अनुसार प्रतियोगिताका लागि सञ्चालन गरिएको अडिशनबाट उपत्यकाका ५० विद्यालयका करिब ६ सय विद्यार्थी छनोट भएका थिए । छनोट भएका विद्यार्थीले विभिन्न विधामा एकल नृत्य प्रस्तुत गर्दै प्रतियोगितामा सहभागिता जनाएका थिए ।
प्रतियोगिताको समापन कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक कमल राई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । यस्तै, विशेष अतिथिका रूपमा वरिष्ठ नृत्य निर्देशक राजु साह, चलचित्र विकास बोर्डका सदस्य तथा गीतकार गणेश सुवेदी, नृत्य निर्देशक तथा प्राज्ञ महेश गोदार, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ केका पूर्वक्याबिनेट सचिव डा.ट्रिजा ढकाललगायत विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति थियो ।
शिव कैलाश कला मन्दिरका अध्यक्ष तथा वरिष्ठ नृत्य निर्देशक नारायण रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी विद्यालयलाई सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन युनिशा रिजालले गर्नुभएको थियो ।
विगत २५ वर्षदेखि कला क्षेत्रमा सक्रिय शिव कैलाश कला मन्दिरले पछिल्लो समयसम्म एक सयभन्दा बढी विद्यालय, कलेज तथा विभिन्न संघसंस्थामा लोकनृत्य प्रशिक्षण तथा कलासम्बन्धी कार्यक्रम सञ्चालन र संयोजन गर्दै आएको जनाएको छ ।
संस्थाका अध्यक्ष तथा नृत्य निर्देशक रिजालले नेपाली कला तथा संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तामा रहेका प्रतिभाको पहिचान र विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । प्रतियोगिताले विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै नेपाली मौलिक कला, संस्कृति र नृत्यप्रति नयाँ पुस्ताको रुचि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।
आयोजकका अनुसार छैटौं संस्करणको प्रतियोगिताले उपत्यकाका बाल तथा युवा नृत्य प्रतिभालाई आफ्नो कला प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्नुका साथै नेपाली मौलिक कला, संस्कृति र नृत्यको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास गरिएको छ । प्रतियोगितालाई ओखती आयुर्वेद, सेरा डिजिटल, लायन्स क्लब दीर्घजीवी र विनायक अस्पताललगायतले सहयोग गरेका थिए ।







