काठमाडौं,
भदौ ९ ।
रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक गरिएको छ । प्रशान्त शिवाकोटीको संगीत तथा सुष्मा सिग्देलको शब्द रहेको गीतमा शान्तीश्री परियार र प्रशान्त शिवाकोटीको स्वर छ ।
तीजको लोक फ्लेबरमा तयार गीतले पछिल्लो समय तीज संस्कृति मनाउनेभन्दा देखाउने माध्यम बन्दै गएको र अरुको देखासिकीमा महँगा पहिरन तथा गहना लगाउने प्रवृत्तिलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरेको छ ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारसँगै दिल श्रेष्ठ, पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहले नृत्य गर्नुभएको छ । भिडियोको कोरियोग्राफी गम्भीर विष्टले गर्नुभएको हो ।
‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाहलगायत कलाकारको अभिनय छ । ध्रुव लम्सालको पटकथा रहेको चलचित्र प्रेमकथामार्फत सामाजिक भावना र परिवेश प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ ।
आठ वर्षपछि निर्देशनमा फर्किनुभएकी रेखा थापाको यो चलचित्र भदौ २६ गतेदेखि प्रदर्शनमा आउनेछ । चलचित्रलाई रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभर वितरण गर्दैछन् ।







