यस्तो छ ‘बा-एक योद्धा’को ट्रेलर, भदौ १९ गतेदेखि प्रदर्शनमा आउने

काठमाडौं,
भदौ ६ ।

बाबुको साहस, त्याग र सन्तानप्रतिको निःस्वार्थ प्रेमलाई कथाको केन्द्रमा राखिएको नेपाली चलचित्र ‘बा–एक योद्धा’को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ । हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्र भदौ १९ गतेदेखि नेपालसहित विश्वभरका हलमा प्रदर्शनमा आउने तयारीमा छ ।

आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको चलचित्रको ट्रेलरमा पारिवारिक सम्बन्ध, भावनात्मक उतारचढाव र बाबुले परिवारका लागि गर्ने संघर्षलाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ । ट्रेलरले बाबु-सन्तानको सम्बन्धमा आउने चुनौती तथा जीवनका कठिन परिस्थितिविरुद्धको संघर्षलाई भावनात्मक रूपमा चित्रण गरेको छ ।

ट्रेलरमा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, सागर खनाल, सुप्रज्ञा शर्मा, शिशिर सिवाकोटी, अनिल बुढाथोकी लगायतका कलाकारलाई देखाइएको छ । अभिनेत्री केकी अधिकारीको चलचित्रमा विशेष उपस्थिति रहेको निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा झरना थापा, दिव्यदेव पन्त, सुहाना थापा, सागर खनाल, सुप्रज्ञा शर्मा, शिशिर सिवाकोटी, अनिल बुढाथोकी, माउत्से गुरुङ, सवी थापा, चन्द्र नेपाल, पर्वकर नाउपाने, अञ्जन ढकाल, करण शाह लगायतका कलाकारको अभिनय छ ।

वसन्त लम्साल निर्माता रहेको चलचित्रमा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा लक्ष्मी काफ्ले सह-निर्माताका रूपमा हुनुहुन्छ । चलचित्रको छायांकन शिवराम श्रेष्ठले गर्नुभएको हो भने गोपाल राया सिनेम्याटोग्राफर तथा ग्याफरका रूपमा रहनुभएको छ ।

चलचित्रको संगीत निर्देशक लम्सालले नै तयार गर्नुभएको छ । गीतमा डा. कृष्णहरि बराल, डा. नवराज लामसाल, डा. राजुबाबु श्रेष्ठ र सञ्जीव थापाले शब्द लेख्नुभएको छ ।

मित्रडी गुरुङको सम्पादन रहेको यस चलचित्रमा समीर मियाँ र सत्यम रानाको भीएफएक्स, रेनिश फागोको कलर तथा नवीन श्रेष्ठको साउन्ड इन्जिनियरिङ रहेको छ । चलचित्रको ब्याकग्राउन्ड स्कोर रमन बज्राचार्यले तयार गर्नुभएको छ ।

निर्माण पक्षले ‘बा–एक योद्धा’लाई पारिवारिक दर्शकलाई लक्षित चलचित्रका रूपमा प्रस्तुत गरेको छ । बाबुको संघर्ष, त्याग र समर्पणलाई भावनात्मक कथामार्फत प्रस्तुत गरिएको चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै दर्शकमाझ चासो बढ्ने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार