मंसिर ११ गतेदेखि ‘सारथी’

काठमाडौं,
भदौ ६ ।

कुमार गजुरेलको निर्देशनमा बनेको चलचित्र ‘सारथी’ आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले शुक्रबार अभिनेत्री निरुता सिंहलाई सोलो रुपमा प्रस्तुत गरिएको चलचित्रको फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

सार्वजनिक पोस्टरमा निरुता काखमा दुधे बालक च्यापेर गम्भीर मुद्रामा देखिनुभएको छ । उहाँको खुट्टाको पैतालाबाट रगत चुहिरहेको दृश्यले चलचित्रको कथावस्तुप्रति कौतुहलता जगाएको छ ।

किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको चलचित्रमा तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता हुनुहुन्छ । चलचित्रको सम्पूर्ण छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा निरुता सिंहसँगै उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल, धिरेन कार्की लगायतका कलाकारको अभिनय छ ।

रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको चलचित्रमा बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता तथा अमीर केसी लाइन प्रोड्युसर हुनुहुन्छ । चलचित्रको छायांकन संकल्प भुजेलले गर्नुभएको हो ।

राजु खतिवडा मुख्य सहायक निर्देशक रहेको ‘सारथी’मा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत छ । बाबुल गिरी, प्रशान्त शिवाकोटी र रचना रिमालले गीतमा स्वर दिनुभएको छ । चलचित्रमा श्याम कार्कीले आर्ट डाइरेक्सन तथा गोविन्द खड्काले ड्रेस कोर्डिनेसन गर्नुभएको छ । चलचित्रको वितरण आरआर फिल्म्सले गर्ने भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार