प्रदर्शनमा ‘मास्टर्नी’

काठमाडौं,
भदौ ५ ।

चलचित्र ‘मास्टर्नी’ आजदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ । आज (शुक्रबार)देखि सुवेन्दु घोषको निर्देशनमा बनेको यो चलचित्र देशभरका हलमा सोलो प्रदर्शनमा आएको हो ।

चलचित्रको केन्द्रमा एउटी आमाको संघर्ष, छोरीप्रतिको माया र सन्तानलाई जोगाउन उनले चाल्ने रणनीति छ । क्राइम तथा सस्पेन्स थ्रिलरको संरचनामा पारिवारिक संवेदनालाई मिसाइएको चलचित्रले आमाको ममता, अपराध र त्यसबाट सिर्जना हुने परिस्थितिलाई कथाको मुख्य आधार बनाएको छ ।

चलचित्रमा प्रियंका कार्की, सिम्रन खड्का, प्रमोद अग्रहरि, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा, दीपकराज गिरी, दीपाश्री निरौला, अनुपविक्रम शाहीलगायतका कलाकारको अभिनय छ ।

आयंका फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीको संयुक्त लगानी छ । चलचित्रको कथा स्वयं प्रियंकाले लेख्नुभएको हो । पटकथा शान बस्नेतले तयार गर्नुभएको छ भने संवादमा प्रियंका र शानले सहकार्य गर्नुभएको छ । चलचित्रमा प्रियंका प्रमुख भूमिकामा हुनुहुन्छ ।

‘मास्टर्नी’को ग्राण्ड प्रिमियर बुधबार साँझ ललितपुरस्थित लबिम मलको क्यूएफएक्समा आयोजना गरिएको थियो । प्रिमियरमा नेपाली चलचित्र क्षेत्रका कलाकार, निर्माता, निर्देशक, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका सेलिब्रेटीको उल्लेख्य उपस्थिति थियो ।

चलचित्र हेरेपछि सहभागी अधिकांशले कथा, प्रस्तुति, अभिनय र प्राविधिक पक्षको प्रशंसा गरेका थिए । ‘मास्टर्नी’ले केन्द्रीय चलचित्र जाँच समितिबाट ‘ए’ अर्थात् १६ वर्षभन्दा माथिका दर्शकले मात्र हेर्न पाउने प्रमाणपत्र पाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार