नाडा अटो शो २०२६ भदौ ९ देखि

काठमाडौं,
भदौ २ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १८औँ संस्करणको ‘नाडा अटो शो २०२६’को तयारी पूरा भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले सोमबार पत्रकार सम्मेलन गर्दै भदौ ९ गतेदेखि सुरु हुने नाडा अटो शोको तयारी पूरा भएको जनाएको हो । छ दिनसम्म चल्ने मेलाले नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको समग्र आर्थिक, सामाजिक एवं व्यावसायिक प्रतिबिम्ब प्रस्तुत गर्ने बताइएको छ ।

नाडाको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा यस वर्षको अटो शो स्वर्ण उत्सव संस्करणका रूपमा आयोजना गरिने बताइएको छ । आयोजकका अनुसार नाडा अटो शोको मुख्य उद्देश्य सम्पूर्ण अटोमोटिभ इको सिस्टम एउटै मञ्चमा ल्याउनु र आगन्तुकलाई बजारमा उपलब्ध नवीनतम उत्पादन, प्रविधि तथा नवप्रवर्तनको प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नु रहेको छ ।

यस वर्षको नाडा अटो शोमा सानाठूला गरी दुई सयभन्दा बढी स्टलहरू रहने बताइएको छ । जसमा २३ ब्राण्डका प्यासेन्जर कार, १७ ब्राण्डका लाइट कमर्सियल भेहिकल, १३ ब्राण्डका दुईपांग्रे, १० बैंक वित्तीय एवं बीमा कम्पनी रहने नाडाले जनाएको छ ।

त्यस्तै नाडा अटो शोमा ७० अटोमोटिभ पार्ट्स, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण, अटोमोबाइलसम्बन्धी अन्य उत्पादन र सेवाका स्टल रहने बताइएको छ । अटो शोमा मुख्य आकर्षणमा जी वान ह्युमनोइड रोबोट, जीओ २ क्वाड्रपेड रोबोट, नेपाली उत्पादनका लागि छुट्टै प्याभिलियन, विभिन्न ब्राण्डका लन्च रहने नाडाले जनाएको छ ।

अवलोकनकर्ताले खल्ती एपमार्फत् अग्रिम टिकट खरिद गर्न सक्ने र निश्चित अवधिका लागि टिकटमा ५० प्रतिशत क्यासब्याक पाउने बताइएको छ । नाडा अटो शो करिब दुई लाख जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ । नाडाका अनुसार देशभर दुई हजार आठ सयभन्दा बढी सदस्य आबद्ध रहेको संस्था सातै प्रदेशमा फैलिएको छ ।

अटोमोबाइल क्षेत्रले भन्सार बिन्दुमा करिब १८ प्रतिशत र समग्र सरकारी राजस्वमा २२ देखि २५ प्रतिशतसम्म योगदान पुर्‍याउँदै आएको छ भने करिब एक लाख जनालाई प्रत्यक्ष र करिब १० लाख जनालाई अप्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ ।

यसमा तपाइको मत

अन्य समाचार