काठमाडौं,
भदौ २ ।
आगामी असोज २ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कार्की साइँला’को टिजर सार्वजनिक गरिएको छ । नागपञ्चमीको अवसर पारेर निर्माण पक्षले ‘मुभिज डिजिटेनमेन्ट’ युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरेको हो ।
टिजरमा मुख्यपात्र कार्की साइँला (जितु नेपाल)को जीवन संघर्ष, गाउँलेको हेपाइ तथा विवाहका लागि गरेको अठोटलाई प्रस्तुत गरिएको छ । भारी बोकेर जीविका चलाउँदै आएका कार्की साइँलालाई अविवाहित भन्दै साथीभाइले जिस्क्याएपछि उनले सात दिनभित्र विवाह गरेर देखाउने अठोट लिन्छन् ।
राजेन्द्र बस्नेतको निर्देशन तथा डम्बर राईको कथामा बनेको चलचित्रको पटकथा तथा संवाद शंकर धिताल र सबिन अधिकारीले लेख्नुभएको हो । चलचित्रमा जितु नेपालसँगै प्रियाना आचार्य, सुशील पोखरेल, वीरेन्द्रसिंह कुशवाहा, मान्शी शर्मा लगायतको अभिनय छ ।
बालकुमार राई र निर्भिक बञ्जाराको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता अनन्त राई हुनुहुन्छ । दिप्सन लिम्बु र संकेत अगस्थीको संगीत रहेको चलचित्रको ‘लग्यौ परान’ गीत यसअघि नै सार्वजनिक भइसकेको छ ।







