काठमाडौं,
भदौ २ ।
गायक, संगीतकार तथा गीतकार एवं वीर अस्पतालका कन्सल्टेन्ट सिनियर फिजिसियन डा.रणजितकुमार झाको नयाँ प्रेमिल गीत ‘न गाँस्थे म प्रित’ सार्वजनिक गरिएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको हो । डा.झाकै शब्द, संगीत र स्वर रहेको गीतमा पबिधान खालिङको एरेन्ज तथा किशोर थापाको मिक्सिङ र मास्टरिङ छ ।
गीतको भिडियोमा सोहल्या झा र सुरेश कोहलीले अभिनय गर्नुभएको छ । भिडियोको निर्देशन, कथा तथा कोरियोग्राफी कविराज गहतराजले गर्नुभएको हो भने रामशरण उप्रेतीको छायांकन र मनोज कार्कीको सम्पादन, कलर तथा जिएफएक्स रहेको भिडियो डा.झाकै ‘जीवन पथ-२’ एल्बममा समावेश छ ।
गीत डा.झाको युट्युब च्यानलसहित विभिन्न डिजिटल तथा म्युजिक स्ट्रिमिङ प्लेटफर्ममा उपलब्ध छ । कार्यक्रममा उहाँका आगामी गीत ‘साथी तँ रक्सी नखा’ र ‘रातकी रानी’का भिडियो ट्रेलरसमेत सार्वजनिक गरिएको थियो ।







