इन्फा अवार्डमा ‘ऊनको स्वीटर’को वर्चस्व, मदनकृष्णलाई लाइफटाइम एचिभमेन्ट

काठमाडौं,
साउन ३१ ।

तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड-२०२६ (इन्फा अवार्ड) काठमाडौंमा सम्पन्न भएको छ । शनिबार सम्पन्न समारोहमा ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र घोषित हुँदा सोही चलचित्रबाट मिरुना मगर उत्कृष्ट अभिनेत्री र नवीन चौहान उत्कृष्ट निर्देशक बन्नुभयो । मुख्य विधामा निर शाह र विपिन कार्कीले क्रमशः ‘परान’ र ‘ऊनको स्वीटर’बाट उत्कृष्ट अभिनेता अवार्ड हात पार्नुभयो । ‘ऊनको स्वीटर’का निर्देशक नवीन चौहानले उत्कृष्ट निर्देशकसँगै उत्कृष्ट पटकथाको अवार्डसमेत प्राप्त गर्नुभयो । लोकप्रिय विधामा पल शाह लोकप्रिय अभिनेता र जसिता गुरुङ लोकप्रिय अभिनेत्री घोषित हुनुभयो ।

इन्फा इभेन्ट्स नेपाल र इन्फा इभेन्ट्स यूकेको संयुक्त आयोजनामा सम्पन्न अवार्डमा नेपाली चलचित्र क्षेत्रका कलाकार, निर्माता, निर्देशक, प्राविधिक, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो । समारोहमा चलचित्र, कला र मनोरञ्जन क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व तथा सिर्जनालाई सम्मान गरिएको थियो ।

यस वर्षको इन्फा अवार्डका लागि २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका ४० भन्दा बढी चलचित्रमध्ये विभिन्न विधामा उत्कृष्ट पाँच मनोनयन छनोट गरिएको थियो । ती मनोनयनबाट निर्णायक मण्डलले विजेता चयन गरेको आयोजकले जनाएको छ ।
अवार्डको निर्णायक मण्डलमा हरिहर शर्मा संयोजक तथा गौरी मल्ल, रमेश बुढाथोकी र करुण थापा सदस्य रहनुभएको थियो ।

संगीत विधातर्फ ‘काफ्नले’बाट झुमा लिम्बु उत्कृष्ट पार्श्व गायिका बन्नुभयो । ‘फुलहरू’बाट सुजन चापागाईंले उत्कृष्ट पार्श्व गायकसँगै उत्कृष्ट संगीतकारको अवार्डसमेत जित्नुभयो । सोही चलचित्रका लागि हर्क साउद उत्कृष्ट गीतकार घोषित हुनुभयो ।

‘जेरी अन टप’बाट मोहक श्रेष्ठ उत्कृष्ट पार्श्व संगीत (बीजीएम), निमेश श्रेष्ठ उत्कृष्ट सम्पादन तथा दुलिप रेग्मी उत्कृष्ट छायाँकार घोषित हुनुभयो । ‘मोहर’को ‘चाहिँदैन’ गीतका लागि रामजी लामिछानेले उत्कृष्ट नृत्य निर्देशकको अवार्ड पाउनुभयो भने ‘राम नाम सत्य’बाट श्रीश्रेष्ठ उत्कृष्ट द्वन्द्व निर्देशक बन्नुभयो ।

‘दि ब्लू लाइट’बाट सृष्टि श्रेष्ठ उत्कृष्ट खलपात्र, ‘अभिमन्यु’बाट प्रकाश दाहाल उत्कृष्ट सह-अभिनेता तथा ‘जेरी अन टप’बाट आँचल शर्मा उत्कृष्ट सह-अभिनेत्री घोषित हुनुभयो ।

त्यस्तै ‘हर्ष’बाट सन्तोष पन्त उत्कृष्ट चरित्र अभिनेता र ‘श्री बुकुरो’बाट लक्ष्मी गिरी उत्कृष्ट चरित्र अभिनेत्री बन्नुभयो । ‘झरिपछिको इन्द्रेणी’बाट विमोचन दवाडी उत्कृष्ट नव-अभिनेता तथा ‘माइतीघर’बाट श्यामाश्री शेर्पा उत्कृष्ट नव-अभिनेत्री घोषित हुनुभयो । उषा उप्रेतीले इन्करेजमेन्ट अवार्ड-अभिनेत्री प्राप्त गर्नुभयो ।

कविता नेपालीले ‘पर्फमर अफ द इयर’को अवार्ड जित्नुभयो । जुरी अवार्डतर्फ ‘सिटामोल’बाट सौगात मल्ल जुरी अवार्ड-अभिनेता, ‘रमिताको पिरती’बाट शुदिप्ता अधिकारी जुरी अवार्ड-निर्देशक तथा ‘गुन्यो चोलो’ जुरी अवार्ड-फिल्म घोषित भए ।

समारोहमा वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठलाई नेपाली कला तथा मनोरञ्जन क्षेत्रमा पुर्‍याएको दीर्घकालीन योगदानको सम्मानस्वरूप लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

अवार्ड समारोहमा पल शाह, उषा उप्रेती, कविता नेपाली, तेरिया मगर, एलिशा शर्मा, बाबुल गिरी, रिह्यान गिरी, समर्पण लामा तथा मिङ्मा डी. लेप्चालगायत कलाकारले सांगीतिक तथा नृत्य प्रस्तुति दिनुभएको थियो ।

इन्फा अवार्डका बोर्ड अफ डाइरेक्टर तथा अवार्ड कोर्डिनेटर मनिष कार्कीले समारोह अन्तर्राष्ट्रिय स्तरको अवार्ड समारोहका रूपमा सम्पन्न भएको बताउनुभयो । उहाँका अनुसार लाइट, साउण्ड, स्टेज तथा कलाकारको प्रस्तुतिले समारोहलाई विश्वस्तरीय स्वरूप दिएको प्रतिक्रिया कलाकार तथा पाहुनाबाट प्राप्त भएको थियो ।

समारोह इन्फा इभेन्ट्स नेपालका अध्यक्ष सुनिल श्रेष्ठ तथा इन्फा इभेन्ट्स यूकेका अध्यक्ष उमेशराज मोक्तानको नेतृत्वमा सम्पन्न भएको हो । कार्यक्रममा बोर्ड अफ डाइरेक्टर तथा अवार्ड कोर्डिनेटर मनिष कार्कीसहित आशिष पन्त, टंक भट्टराई, मनोज केसी, राज पाण्डे र शुष्मा पौडेलको टिम सक्रिय थियो ।

सन् २०२४ र २०२५ मा बेलायतको लण्डनमा आयोजना भएको इन्फा अवार्डको तेस्रो संस्करण पहिलोपटक नेपालमा आयोजना गरिएको हो । आयोजकले आगामी संस्करण विदेशी भूमिमा थप परिस्कृत र अन्तर्राष्ट्रिय स्तरमा आयोजना गर्ने जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार