अग्रजको आशीर्वाद, नयाँ पुस्ताको उत्साह : ‘ओल्ड इज गोल्ड’ सम्पन्न

काठमाडौं,
साउन २७ ।

चलचित्र विकास बोर्डद्वारा आयोजित ऐतिहासिक नेपाली चलचित्र प्रदर्शन शृंखला ‘ओल्ड इज गोल्ड’ सात दिनपछि ‘जीवनरेखा’को प्रदर्शनसँगै सम्पन्न भएको छ । नेपाली चलचित्रको इतिहासलाई ठूलो पर्दामार्फत नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यसहित आयोजना गरिएको शृंखलामा दर्शकको उत्साह सुरुदेखि अन्तिम दिनसम्म निरन्तर देखिएको आयोजकले जनाएको छ ।

सात दिनसम्म सञ्चालन भएको शृंखलामा नेपाली चलचित्र इतिहासका महत्वपूर्ण मानिने ‘आमा’, ‘सिन्दूर’, ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘मनको बाँध’, ‘कुमारी’, ‘शान्तिदीप’, ‘हिजो आज भोलि’, ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’ गरी १० चलचित्र प्रदर्शन गरिएका थिए। अधिकांश प्रदर्शनमा हल दर्शकले खचाखच भरिएका थिए ।

समापन समारोहमा नेपाली चलचित्रको अग्रज पुस्ताले नयाँ पुस्तालाई खादा लगाएर आशीर्वाद तथा सफलताको शुभकामना दिए । समारोहमा चलचित्र ‘गौँथली’का कलाकार तथा चलचित्रकर्मीलाई अग्रज कलाकार तथा स्रष्टाले सम्मानसहित आशीर्वाद दिएका थिए ।

नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्दले अभिनेत्री सिम्रन खड्कालाई, वरिष्ठ अभिनेता शिव श्रेष्ठले अभिनेता अरुण क्षेत्रीलाई, निर्देशक लक्ष्मीनाथ शर्माले निर्देशक डा. कपिल रिजाललाई, वरिष्ठ कलाकार टिका पहारीले निर्माता सुमन गिरीलाई तथा वरिष्ठ कलाकार सन्तोष पन्तले वितरक करण क्रेजीलाई खादा लगाएर आशीर्वाद दिनुभएको थियो ।

समापन कार्यक्रममा वरिष्ठ कलाकार तथा चलचित्रकर्मी शिव श्रेष्ठ, सन्तोष पन्त, हरिहर शर्मा, शकुन्तला शर्मा, टिका पहारी, सुष्मा शाही, लक्ष्मीनाथ शर्मा, प्रभा ढकाललगायतको उल्लेख्य उपस्थिति थियो ।

‘ओल्ड इज गोल्ड’को सुरुवात अग्रज चलचित्रकर्मीबाट दीप प्रज्वलन गरेर गरिएको थियो भने समापनमा तिनै अग्रजले नयाँ पुस्तालाई आशीर्वाद दिएका थिए । आयोजकका अनुसार यसले नेपाली चलचित्रको विगत, वर्तमान र भविष्यलाई एउटै मञ्चमा जोड्ने सांस्कृतिक तथा भावनात्मक वातावरण निर्माण गरेको थियो ।

पुराना नेपाली चलचित्रप्रति दर्शकको रुचि कस्तो होला भन्ने प्रश्नसहित सुरु भएको शृंखलाले भने उत्साहजनक जवाफ दिएको छ । सात दिनसम्मका प्रदर्शनमा देखिएको दर्शकको उपस्थितिले नेपाली चलचित्रको इतिहासप्रति नयाँ पुस्तासहित पुराना पुस्ताको समेत चासो र आकर्षण कायमै रहेको देखाएको छ ।

‘ओल्ड इज गोल्ड’ले पुराना चलचित्रको पुनःप्रदर्शन मात्र नभई नेपाली चलचित्रको इतिहासलाई स्मरण गर्दै वर्तमान पुस्तालाई अग्रजको योगदानसँग जोड्ने र भविष्यका पुस्तालाई चलचित्रको विरासत हस्तान्तरण गर्ने अवसरसमेत प्रदान गरेको आयोजकको भनाइ छ ।

यसमा तपाइको मत

अन्य समाचार