काठमाडौं,
साउन २८ ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पाँच महिनापछि आज (बिहीबार) स्वदेश फर्किँदै हुनुहुन्छ । कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा आज (बिहीबार) दिउँसो साढे १२ बजे थाई एयरमार्फत काठमाडौं अवतरण गर्नुहुनेछ ।
देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर जानुभएको थियो । त्यसअघि भारत भ्रमणमा रहनुभएकी पत्नी आरजु राणा पनि उपचारका लागि सिंगापुर पुग्नुभएको थियो । दुवै जना सिंगापुरबाट थप उपचारका लागि हङकङ पुगेको जानकारी दिइए पनि त्यसयता उहँँहरू कहाँ रहनुभयो भन्नेबारे औपचारिक रूपमा सार्वजनिक गरिएको थिएन ।
जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनी भएको थियो । त्यसक्रममा देउवा दम्पतीमाथि समेत आक्रमण भएको थियो । त्यसपछि केही समय नेपालमै उपचार गराउनुभएका उहाँहरू थप उपचारका लागि सिंगापुर जानु भएको थियो । उपचारपछि नेपाल फर्किए पनि फलोअपका लागि भन्दै देउवा पुनः गत फागुन १३ गते सिंगापुर गएको बताइएको छ ।
यसैबीच, देउवा दम्पती सिंगापुरमा रहेका बेला उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ पुर्जी जारी गरेका थिए । पक्राउ पुर्जी रोक्न माग गर्दै वारेसमार्फत दायर गरिएको रिटमा सर्वोच्च अदालतले भने पूर्वप्रधानमन्त्री देउवा र उहाँकी पत्नी राणालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
कांग्रेसभित्र असन्तुष्टि चुलिएका बेला देउवा स्वदेश फर्किन लाग्नु भएको हो । उहाँको स्वदेश आगमनसँगै कांग्रेसको आन्तरिक राजनीतिक गतिविधि थप सक्रिय हुने देखिएको छ ।
देउवा पक्षले यही साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ । भेलाका लागि कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा आयोजक समिति गठन गरिएको छ ।







