काठमाडौं,
साउन २५ ।
विनयराज पौडेलको निर्देशनमा बनेको नेपाली चलचित्र ‘अक्षरा’को टिजर सार्वजनिक भएको छ । सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको करिब दुई मिनेट लामो टिजरले फिल्मको कथावस्तुबारे संक्षिप्त संकेत गरेको छ ।
अभिनेता सुशील सिटौला र अभिनेत्री न्यान्सी खड्कालाई केन्द्रमा राखिएको टिजरमा महिलामाथि हुने घरेलु हिंसालाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको छ । टिजरमा न्यान्सीको पात्रको विवाह धनाढ्य परिवारका युवकको भूमिकामा रहनुभएका सुशीलसँग हुन्छ । विवाहअघि सोझा र इमानदार देखिने सुशीलको चरित्र विवाहपछि भने क्रमशः परिवर्तन हुँदै जान्छ ।
मदिराको लतमा फसेपछि सुशीलले श्रीमतीमाथि कुटपिट गर्न थालेको दृश्य टिजरमा देखाइएको छ । त्यसपछि न्यान्सीको पात्रले भोग्नुपर्ने पारिवारिक तथा मानसिक पीडालाई चलचित्रको मुख्य कथावस्तुका रूपमा प्रस्तुत गरिएको संकेत टिजरले गरेको छ । पारिवारिक कथावस्तु र सामाजिक विषयलाई केन्द्रमा राखिएको फिल्मले घरेलु हिंसाको गम्भीर पक्षलाई दर्शकमाझ पुर्याउने अपेक्षा गरिएको छ ।
आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रमा सुशील सिटौला र न्यान्सी खड्कासँगै रिस्ता बस्नेत, सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने, सृष्टि खड्का, रोनक खड्का, प्रीसा ढुंगाना, त्रिलोचन न्यौपाने लगायतका कलाकारको अभिनय छ ।
सोनी थापा (ढुंगाना) प्रस्तुतकर्ता रहेको यस चलचित्रका निर्माता उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना हुनुहुन्छ । सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता हुनुहुन्छ ।
फिल्मको कथा उग्रसेन ढुंगानाले लेख्नुभएको हो भने पटकथा तथा संवाद अभिमन्यु निरवी र विनयराज पौडेलले तयार पार्नुभएको हो । दिपेन बस्न्यातको छायांकन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा गौतमराज खड्काको सम्पादन रहेको छ ।







