काठमाडौं,
साउन २५ ।
पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरणदेखि सुगौली सन्धीसम्मको इतिहासलाई समेटेर निर्माण हुन लागेको लघु चलचित्र ‘नेपाली वीरताको गाथा’को छायांकन आरम्भ भएको छ । रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुति तथा रिमेश अधिकारीको परिकल्पना, निर्माण र निर्देशनमा बन्न लागेको यस चलचित्रको छायांकन सोमबार नेपाली सेनाको मुख्यालय परिसरमा रहेको पृथ्वीनारायण पुस्तकालयबाट सुरु गरिएको हो । चलचित्र निर्माणमा नेपाली सेनाको विशेष सहयोग रहेको जनाइएको छ ।
निर्माता-निर्देशक अधिकारीका अनुसार करिब छ महिनाको खोज तथा अनुसन्धानपछि पटकथा तयार पारिएको हो । कलाकारलाई कार्यशाला गराएर छायांकन सुरु गरिएको चलचित्रलाई देशको गौरवपूर्ण इतिहास दस्तावेजीकरण गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र अवार्डमा समेत सहभागी गराउने लक्ष्य राखिएको छ ।
चलचित्रमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीसहित रामचन्द्र अधिकारी, रिमेश अधिकारी, विशाल पहारी, पुकार भट्टराई, पुष्कर भट्ट, भावना गुरुङ, स्नेहा जोशी, इशान बिजु श्रेष्ठलगायत कलाकारको अभिनय रहनेछ । नेपाली सेनाका कलाकारको समेत सहभागिता रहने निर्माण पक्षले जनाएको छ ।
शिव ढकालको छायांकन, समीर मिया र सत्यम रानाको भीएफएक्स, जुनिम गहतराजको कलर, एलिस कार्कीको संगीत तथा पार्श्व संगीत, गौरव गुरुङको गीत, मदन न्यौपानेको मेकअप, कृष्ण राईको कला निर्देशन र लोकहरी गेलालको सम्पादन रहनेछ ।
चलचित्रको भव्य प्रिमियर भदौ अन्तिम साता गर्ने तयारी छ । आधुनिक भीएफएक्स प्रविधिको प्रयोग गरिने चलचित्रलाई विद्यालय तथा कलेजसम्म पुर्याउने योजना रहेको निर्माण पक्षले जनाएको छ । एकीकरणदेखि सुगौली सन्धीसम्मका प्रमुख ऐतिहासिक घटनालाई समेटिने भएकाले चलचित्र विद्यार्थीका लागिसमेत शैक्षिक सामग्रीका रूपमा उपयोगी हुने अपेक्षा गरिएको छ ।







