‘मिस र मिसेस ब्युटिफुल नेपाल’को ग्राण्ड फिनाले भदौ ६ मा

काठमाडौं,
साउन २५ ।

‘मिस ब्युटिफुल नेपाल’को ११औं तथा ‘मिसेस ब्युटिफुल नेपाल’को १०औं संस्करणको ग्राण्ड फिनाले आगामी भदौ ६ गते काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजना हुनेभएको छ । दक्ष इन्टरनेशनलको आयोजनामा हुने प्रतियोगिताको ग्राण्ड फिनालेका लागि अडिशनबाट छनोट भएका प्रतियोगीहरू अहिले अन्तिम तयारीमा जुटेका छन् । प्रतियोगीलाई व्यक्तित्व विकास, स्टेज प्रस्तुति तथा पेजेन्टसम्बन्धी विभिन्न विषयमा विशेष प्रशिक्षण दिइरहेको आयोजकले जनाएको छ ।

प्रतियोगितालाई सौन्दर्य प्रदर्शनमा मात्र सीमित नराखी महिलाको व्यक्तित्व, प्रतिभा, आत्मविश्वास, नेतृत्व क्षमता तथा सामाजिक उत्तरदायित्वलाई समेत उजागर गर्ने उद्देश्यले आयोजना गरिएको आयोजक समितिका अध्यक्ष तथा दक्ष इन्टरनेशनलका प्रमुख टेकराज पाण्डेले बताउनुभयो ।

ग्राण्ड फिनालेको तयारीमा रहेका प्रतियोगीहरूलाई मिडिया कम्युनिकेसन, सार्वजनिक वक्तृत्वकला, एमसिइङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, फिटनेस, योग, सेल्फ-मेकअप तथा फेशनलगायत विषयमा दक्ष प्रशिक्षकमार्फत प्रशिक्षण दिइरहेको आयोजकले जनाएको छ ।

प्रशिक्षणसँगै प्रतियोगीहरूले र्‍याम्प वाक, स्टेज प्रेजेन्स, प्रश्नोत्तर, प्रस्तुति तथा व्यक्तित्व विकासमा विशेष अभ्यास गरिरहेका छन् । प्रतियोगिताको अन्तिम चरणमा प्रतियोगीहरूको बाह्य सौन्दर्यसँगै प्रस्तुति क्षमता, बौद्धिकता, आत्मविश्वास र व्यक्तित्वलाई समेत मूल्यांकन गरिने आयोजकको भनाइ छ ।

‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल-२०२६’का लागि अडिशनबाट छनोट भएका प्रतियोगीमा मन्दिरा आचार्य, सृजना घिमिरे, समीक्षा शर्मा, रीता कटुवाल, गीता बुढाथोकी, रीता तामाङ, रेखा श्रेष्ठ, निशा राजभण्डारी, सञ्जिना चौधरी, ताराकुमारी दुलाल र सुनिता श्रेष्ठ आचार्य रहनुभएको छ । भदौ ६ गते राष्ट्रिय नाचघरमा हुने ग्राण्ड फिनालेबाट मिस ब्युटिफुल नेपाल-२०२६ तथा मिसेस ब्युटिफुल नेपाल-२०२६को विजेता चयन गरिनेछ । आयोजकका अनुसार उपाधिका लागि प्रतियोगीको सौन्दर्यसँगै प्रतिभा, आत्मविश्वास, व्यक्तित्व, प्रस्तुति क्षमता र नेतृत्वदक्षतालाई मुख्य आधार बनाइनेछ ।

यसमा तपाइको मत

अन्य समाचार