गौतम बन्धुहरूको काठमाडौंमा भेला, जिल्ला समिति गठन

काठमाडौं,
साउन २४ ।

गौतम बन्धु राष्ट्रिय समाज बाग्मती प्रदेश समन्वय समितिको सक्रियतामा काठमाडौंमा गौतम बन्धुहरूको ऐतिहासिक भेला सम्पन्न भएको छ । वर्षाका काठमाडौंमा बसोबास गर्ने गौतम बन्धुको सहभागितामा भएको भेलाले देवराज गौतमको अध्यक्षतामा १० सदस्यीय काठमाडौं जिल्ला समन्वय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा रंगलाल गौतम, सचिवमा शिवप्रसाद गौतम तथा सदस्यहरूमा पुस्कर राज गौतम, राजु गौतम, दिनानाथ गौतम, मात्रिकाप्रसाद गौतम, शारदा गौतम, ठाकुर गौतम र रवि गौतम चयन हुनुभएको छ । सल्लाहकार संयोजकमा रमेशप्रसाद गौतम चयन हुनुभएको छ ।

कार्यक्रममा विश्व हिन्दु महासंघका पूर्वअध्यक्ष दामोदर गौतम प्रमुख अतिथि तथा बाग्मती प्रदेश अध्यक्ष बुद्धिप्रसाद गौतम ‘विदुर’ सभापति रहनुभएको थियो । कार्यक्रममा पूर्व जिल्ला न्यायाधीश ईश्वरीप्रसाद गौतम, गोतामथोक कुलपूजा समाजका अध्यक्ष श्रीकृष्ण गौतमलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

प्रमुख अतिथि दामोदर गौतमले गौतम वंशावलीबारे जानकारी गराउनुभएको थियो भने केन्द्रीय अध्यक्ष शोभाकर गौतमले संस्थाका आगामी कार्यक्रम तथा गतिविधिबारे जानकारी दिनुभयो ।

नवगठित समितिले गौतम बन्धुहरूको एकता र सामाजिक सहकार्यसँगै वंशावली तथा कुल–पितृसँग सम्बन्धित परम्पराको संरक्षणमा काम गर्ने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार