काठमाडौं,
साउन २४ ।
प्रेम, पारिवारिक सम्बन्ध, सामाजिक संवेदना र मानवीय भावनालाई कलामार्फत प्रस्तुत गरिएका ‘कति बस्छौं माइतीघर’ म्युजिक भिडियो र ‘आश्रम’ सर्ट फिल्म काठमाडौंको जय नेपाल हलमा विशेष समारोहबीच सार्वजनिक गरिएको छ । ‘भ्रम’ चलचित्रका निर्देशक रविन्द्र शाहीको निर्देशनमा तयार ‘कति बस्छौं माइतीघर’मा किशोरकुमार शाही र देवकुमारी खड्गीको स्वर तथा श्रीतिका श्रेष्ठ र अभिषेक श्रेष्ठको अभिनय छ ।
गीतमा किशोरकुमार शाहीकै संगीत, सुमन कपालीको संगीत संयोजन तथा ओमप्रकाश अवस्थी ‘ईश्वर’को छायांकन र सम्पादन छ । नृत्य निर्देशन राजन शाहीले गर्नुभएको छ ।
यसैगरी, समाज र मानवीय जीवनका संवेदनशील पक्षलाई समेटिएको ‘आश्रम’मा विजय केसी, निरु बुढामगर, देवकुमारी खड्गी र सत्यदेवी थापाको अभिनय छ । चाँदनी, शेरबहादुर डीसी र दीपक कपाली अतिथि कलाकार तथा रुहान शाक्य र युवराज श्रेष्ठ बालकलाकारका रूपमा हुनुहुन्छ । चलचित्रको कथा, सम्पादन तथा निर्देशन नरेन्द्रबहादुर धामीले गर्नुभएको हो भने इन्द्र खड्गी निर्माता र देवकुमारी खड्गी प्रस्तुतकर्ता हुनुहुन्छ ।
सार्वजनिक समारोहमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, ज्येष्ठ चलचित्रकर्मी मदनदास श्रेष्ठ, अभिनेता धीरेन शाक्य, चलचित्र पत्रकार तथा निर्देशक विजय रत्न तुलाधर, अभिनेत्री शर्मिला मल्ल र पल्पसा डंगोललगायत चलचित्र क्षेत्रका व्यक्तित्वहरू आतिथ्यता र उपस्थिति थियो ।
कार्यक्रममा सहभागी चलचित्रकर्मी तथा अतिथिहरूले दुवै सिर्जनाले मनोरञ्जनसँगै पारिवारिक सम्बन्ध, सामाजिक संवेदना र मानवीय भावनाका विषयलाई कलात्मक रूपमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरेका थिए ।







