‘ल्याङ्ग ल्याङ्ग’मा जीवन

काठमाडौं,
साउन १९ ।

चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा कलाकार जीवनजंग बस्न्यात अनुबन्धित हुनुभएको छ । चलचित्रका निर्देशक बलिराम चौहान र बस्न्यातबीच कागजी सम्झौंता भएको हो । बस्न्यात यही चलचित्रमार्फत् पहिलोपटक मुख्य भूमिकामा देखिन लाग्नुभएको हो । यसअघि उहाँले चलचित्र ‘रमिताको पिरती’ मा छोटो भूमिका निर्वाह गर्नुभएको थियो ।

उहाँले हिमालयन टेलिभिजनको कार्यक्रम ‘कठघरा’ मा ‘रक्षक’को भूमिका समेत निभाउनुभएको छ । सुनसरीको कालाबञ्जर निवासी बस्न्यात लामो समयदेखि रंगमञ्च, सर्ट सिनेमा, म्युजिक भिडियो र टेलिभिजनमार्फत अभिनयमा सक्रिय हुनुहुन्छ ।

१२ वर्षको उमेरमै नाटक ‘कलालय इटहरी’ मार्फत उहाँले रंगमञ्च यात्रा सुरु गर्नुभएको थियो । त्यसयता बस्न्यातले हालसम्म दर्जनौँ नाटक, २०० भन्दा बढी सर्ट सिनेमा, दर्जनौँ म्युजिक भिडियो तथा टेलिभिजन विज्ञापनमा अभिनय गरिसक्नुभएको छ । यसबाहेक फेसबुक, इन्स्टाग्राम र टिकटकमा अभिनयप्रधान भिडियोमार्फत पनि उहाँ दर्शकमाझ लोकप्रिय हुनुहुन्छ ।

उहाँले अभिनेता अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ र ‘सानो संसार’, साथै गायक सुजन चापागाईंको गीत ‘फुलथुङ्गे रानी’ मा ब्याकग्राउन्ड आर्टिस्ट (एक्स्ट्राज) का रूपमा काम गर्नुभएको थियो ।

उहाँले ओस्कार अन्तर्राष्ट्रिय कलेजबाट चलचित्र अध्ययनमा स्नातक (अभिनय मुख्य विषय) पूरा गर्नुभएको छ । हाल उहाँ फिल्म स्टडीजमै स्नातकोत्तर अध्ययनको तयारीमा हुनुहुन्छ ।

स्काई फल पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा भोलानाथ कटवालको लगानीमा बन्नेछ । यसअघि चलचित्रमा रिहान गिरी र सन्तोष बानियाँ अनुबन्धित भइसक्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार