काठमाडौं,
साउन १९ ।
जिनियस डिजिटल म्युजिक प्रा.लि. तथा जिनियस डान्स एण्ड म्युजिक स्कुलको संयुक्त आयोजनामा सञ्चालन भइरहेको राष्ट्रिय बाल प्रतिभा प्रतियोगिता ‘किड्स जिनियस स्टार अफ नेपाल’ अन्तर्गतको वर्कसप राउन्ड उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी रहनुभएको थियो भने जिनियस डान्स एण्ड म्युजिक स्कुलका अध्यक्ष टेक लामा छिरिङले सभापतित्व गर्नुभएको थियो । कार्यक्रम संयोजक नृत्य निर्देशक तथा मोडल कृष्ण रसाल र सह-संयोजक नृत्य निर्देशक अनिल महर्जन रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन गायक रमेश पाठकले गर्नुभएको थियो ।
कार्यक्रममा नृत्य निर्देशक यम गुरुङ, केशव कोइराला, दीपकलाल जोशी, बुद्ध लामा, नारायण रिजाल, अनिल पुतुवार, पिङ्की खड्का, निरु फुयाल, संगीता श्रेष्ठ, भावना राई, नवराज रिजाल, सन्तोष कुमाल, रूपा क्षेत्री, भीम लामा र साजन भण्डारीसहित कलाकार, निर्देशक, संगीतकर्मी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
वर्कसपको विशेष आकर्षणका रूपमा सिद्धार्थ श्रेष्ठ र भीम लामाको नृत्य प्रस्तुति रहेको थियो । नृत्य निर्देशक यम गुरुङले प्रतियोगीहरूलाई नृत्यसम्बन्धी व्यावहारिक प्रशिक्षण, स्टेज प्रस्तुति, अभिव्यक्ति, तालमेल, आत्मविश्वास तथा प्रस्तुति परिष्करणका विविध पक्षबारे प्रशिक्षण दिनुभएको थियो ।
त्यसैगरी, गायनतर्फका प्रतियोगीहरूलाई गायक तथा संगीतकार रमेश पाठक र चेतन राईले स्वर साधना, लय-ताल, गीत प्रस्तुतिको शैली, स्टेजमा आत्मविश्वासका साथ प्रस्तुति दिने कला तथा प्रतिस्पर्धामा सफल हुन आवश्यक सीपबारे प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
आयोजकका अनुसार कार्यशालाले प्रतियोगीहरूलाई आगामी मेगा राउन्डका लागि आवश्यक तयारी, प्रस्तुति परिष्करण तथा प्रतिभा थप प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ । सहभागी प्रतियोगी तथा अभिभावकहरूले कार्यशाला उपयोगी, प्रेरणादायी र उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका छन् ।
प्रतियोगिताको बहुप्रतीक्षित मेगा राउन्ड साउन २३ गते शनिबार बिहान ११ बजे काठमाडौंको सितापाइलास्थित निर्भाना एकेडेमीमा आयोजना हुने आयोजकले जनाएको छ । उक्त चरणमा देशभरबाट छनोट भएका उत्कृष्ट बाल प्रतिभाहरूले गायन र नृत्य विधामा प्रतिस्पर्धा गर्नेछन् । साथै, राष्ट्रियस्तरका चर्चित कलाकार, निर्णायक, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने जनाइएको छ ।







